उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल



काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन नागरिकसँग अपिल गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेका हुन् ।

प्रवक्ता ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको बताए । साथै संक्रमणको दर अझ नियन्त्रण बाहिर गए ठूलो दुर्घटना निम्तिने समेत बताए ।

‘अन्य जिल्लामा नियन्त्रण उन्मुख हुँदै गए पनि काठमाडौं उपत्यका उच्च जोखिममा छ । आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामै रहेको छ । नियन्त्रण उन्मुख रहेको छैन सतर्कता अपनाउनुपर्ने जरुरी रहेको छ,’ उनले पत्रकार सम्मेलनमा भने–‘४० लाख बसोबास गर्ने उपत्यकामा संक्रमण अनियन्त्रित भयो भने त्यसले ठूलो जोखिममा पु-याउन सक्छ । आफूले सेवा दिँदा वा लिँदा व्यवसाय गर्दा, यातायातमा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनुका लागि आग्रह गर्दछु ।’

उनले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै दसैँ तिहार जस्ता पर्व मनाउन पनि आग्रह गरे । आफू स्वस्थ रहे फेरि पनि चाडबाड मनाउन सकिने उल्लेख गर्दै उनले काठमाडौँबाट गाउँ जाने र गाउँबाट काठमाडौँ आउने गर्दा कोरोनको जोखिम पनि बढ्दै जाने बताए ।

६० वर्षमाथिका व्यक्तिलाई संक्रमण हुने डर अझ बढी रहेको बताउँदै प्रवक्ता ज्ञवालीले भने–‘६० वर्ष मुनिकाको संक्रमण दर र मृत्यु दर पनि तुलनात्मक रुपमा कम रहेको छ । ६० वर्षमाथिको बढी रहेको छ । ओहोरदोहोर गर्दा आउन जोखिमलाई कम गर्न ध्यानमा राखौँ । आर्शिवाद बचाउँ ।’

सरकारले सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । लोकसेवा आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह र विषयका परीक्षण सञ्चलन गर्न सैद्धान्तिक अनुमित प्रदान गरिएको उनले बताए ।

प्रकाशित : असोज २१, २०७७

प्रतिक्रिया दिनुहोस्