प्रदेश सरकारको बिदामा केन्द्र मातहतका कार्यालय पनि बन्द हुने



काठमाडौं : अबदेखि प्रदेश सरकारले घोषणा गरेका बिदाहरूमा संघीय सरकारअन्तर्गतका कार्यालयमा पनि बिदा दिइने भएको छ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रदेश सरकारले दिएको बिदाको दिन प्रदेशभित्र रहेका सबै सरकारी कार्यालयमा बिदा हुने निर्णय भएको जानकारी दिए।

मन्त्री बाँस्कोटाले एउटै प्रदेशमा कुनै कार्यालय खुल्ने र बन्द हुने गर्दा मुख्यमन्त्रीहरूबाटै गुनासो आएको बताउँदै त्यसलाई सम्बोधन गर्न पनि सरकारले यस्तो निर्णय गरेको बताए।

उपत्यकाको हकमा भने संघीय कार्यालयमा बिदा दिने नदिने विषयमा भने गृह मन्त्रालयले निर्णय गर्ने मन्त्री बाँस्कोटाले बताए। मन्त्रिपरिषद्को पछिल्लो निर्णयले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुने मन्त्री बाँस्कोटाले बताए। 

प्रतिक्रिया दिनुहोस्