कांग्रेसद्वारा डा.केसी र सरकारबीच भएको सहमतिको स्वागत



काठमाडौं : नेपाली कांग्रेसले सत्याग्रही डा.गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ ।

कांग्रेसले सहमतिको स्वागत गर्दै स्वदेश र विदेशबाट विभिन्न माध्यम र विभिन्न ढंगबाट केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउनेहरुलाई धन्याबाद दिएको छ । शुरुदेखि केसीका मागप्रति सरकारको रवैया पूर्वाग्रही रहेको भन्दै कांग्रेसले टिप्पणी गरेको छ ।

जुम्ला अनशनपछि काठमाडौं पुग्दा दुर्व्यवहारपूर्ण व्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म गरेको सरकारको चौतर्फी दबाबपछि वार्ता समितिमार्फत सहमतिमा पुगेको कांग्रेसले उल्लेख गरेको छ ।

‘सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं । तर, विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपिल गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ । सहमति कार्यान्वयनमा इमान्दार बन्नसचेत गराउँदै कांग्रेसले भनेको छ,‘थप द्वन्द्व सिर्जना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न नेपाली कांग्रेस वर्तमान सरकारलाई सजग गराउँदै सार्वजनिक रुपले आग्रह गर्दछ ।’

वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा २०७५ साउन १० गते डा. केसीसँग गरिएको सहमति सोही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको कांग्रेसले स्मरण गराएको छ ।

Image

प्रकाशित :२५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्