चाडपर्वमा ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना



काठमाडौं : नजिकिँदै गरेको दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आजदेखि कार्यान्वयन गर्न थालेको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित गराउने उद्देश्यका साथ योजना लागु गरिएको महाशाखाले जनाएको छ ।

उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको महाशाखाले जानकारी दिएको हो ।

यात्राको क्रममा कसैलाई केही समस्या भए १०३ मा फोन गर्न आग्रहसमेत गरिएको छ । ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओरालि दिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी चनाखो भएको जनाएको छ ।

प्रकाशित : २५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्