बाङ्ग्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुनसक्ने



काठमाडौं : बाङ्ग्लादेशमा कानुन संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको छ ।

सरकारले सोमवार यस विषयमा औपचारिक निर्णय गरेको हो । बीबीसी बाङ्ग्लासँग कुरा गर्दै कानुनमन्त्री अनिसुल हकले उक्त संशोधित कानुन राष्ट्रपतिबाट मंगलवार जारी हुने र तत्काल लागु हुने छ ।

गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोधप्रदर्शन सुरु भएको थियो । विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था र अन्य मानिसहरूले राजधानी ढाकामा प्रदर्शन गरेका थिए ।

धेरैले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेका थिए । प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको हो ।

अहिले संसद्को सत्र नचलेकाले त्यसो गरिएको मन्त्री हकले बताएका छन् । यो निर्णयको चारैतिर स्वागत हुने अपेक्षा गरिएको भए पनि बलात्कारपछि पीडित महिलाको हत्या हुने क्रम झन् बढ्ने डर पनि व्यक्त भएको बताइन्छ ।

प्रकाशित :२६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्