विद्युत आयोजनाहरुको अध्ययन विश्लेषण गरी नीतिगत सुझाव पेश गर्ने



काठमाडौं : ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको पहिलो बैठक बसेको छ ।

गत १९ भदौको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्त, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्प कँडेल रहेको ४ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदललाई जलविद्युत उत्पादन, प्रसारण र वितरण, प्रसारण लाइन, आन्तरिक र बाहृय बजारको अवस्था, उपभोग तथा खपतको प्रवृत्ति, औद्योगिक विकास र आर्थिक क्रियाकलापको विस्तारले माग गर्ने विद्युतको परिणाम, हाल उपलब्ध विद्युत र निर्माणाधीन विद्युत आयोजनाहरुको अध्ययन विश्लेषण गरी नीतिगत सुझाव पेश गर्ने जिम्मेवारी छ । हाल अर्थ मन्त्रालय मन्त्रीबिहीन रहेका कारण बाँकी तीन सदस्यको बैठक बसेको हो ।

ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयमा मंगलबार बसेको कार्यदल बैठकमा अर्थसचिव शिशिरकुमार ढुंगाना, वाणिज्य सचिव बैकुण्ठ अर्याल, ऊर्जा सचिव दिनेशकुमार घिमिरे र ऊर्जा मन्त्रालयका सह–सचिव प्रवीण अर्याल आमन्त्रित सदस्यका रुपमा उपस्थित थिए । बैठकले ऊर्जा सचिव दिनेकुमार घिमिरेलाई कार्यदलको सदस्सचिव तोकेको छ ।

यस्तै ऊर्जा क्षेत्र हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य, अर्थ, उद्योग, वाणिज्य र आपूर्ति र वन तथा वातारण मन्त्रालयका सचिवलाई कार्यदलको स्थायी आमन्त्रित सदस्यको जिम्मेवारी दिएको छ । ऊर्जा क्षेत्रको सुझावको मस्यौदा तयार पार्ने जिम्मेवारीसहित बैठकले प्राविधिक समिति गठन गरेको छ ।

ऊर्जा मन्त्रालयका सह–सचिव प्रवीण अर्यालको संयोजकत्वमा गठित प्राविधिक समितिमा अर्थ, उद्योग बाणिज्य तथा आपूर्ति, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय योजना आयोग र जल तथा ऊर्जा आयोगको सचिवालयका सह(सचिव, विद्युत विकास विभागका महानिर्देशक र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि सदस्य छन् ।

समितिलाई स्वतन्त्र ऊर्जा उत्पादक तथा निजी क्षेत्रको समेत सुझाव समेटेर आगामी कात्तिक मसान्तभित्र नीतिको प्रस्तावित मस्यौदा मूल समितिमा पेश गर्ने कार्यादेश दिएको छ ।

प्रकाशित :२७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्