चीनले नेपाली सीमा मिच्यो



काठमाडौं : नेपाल-चीन सीमाको नेपाली कांग्रेसले स्थलगत निरीक्षण गरेको छ ।

निरिक्षणमा गएको नेपाली कांग्रेसको टोलीले चीनले नेपाली सीमा मिचेको ठहर गरेको छ । असोज १४ गते गएको टोली २४ गते फर्केको हो ।

चीनको नाम्खा गाउँपालिकास्थित लोलुङजोङमा निर्माण गरेको भौतिक संरचना नेपालभित्र रहेको टोलीले निष्कर्ष निकालेको छ । गप्पुदोचादेखि नेपालले निर्माण गरेको झण्डै २ किलोमिटर सडकखण्ड चीनले अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ ।

लाप्चा भन्ज्याङमा निर्माण गरिएको १२ नं.सीमा स्तम्भ चीनले पूरै परिवर्तन गरेको अनुगमन टोलीले जनाएको छ । उक्त सीमा स्तम्भ नेपाल सरकारलाई थाहै नदिई छ महिनाअघि चीनले निर्माण गरेको टोलीले जनाएको छ । लिमी टाकुल्ले चुचुरोमा रहेका ११ र १० नं.सीमास्तम्भ यथावत रहेको टोलीले प्रष्टाएको छ ।

यसअघि ११ नं.पिल्लर हराएको समाचार आएको थियो । ‘११ नम्बर पिल्लर हराएकै थिएन, गलत प्रचार भएको रहेछ ।’ हुम्लाका कांग्रेस जिल्ला सभापति जयपति रोकायाले भने । चीनले दशगजा क्षेत्रमा नियमविपरीत हिल्सा सीमाको ९ (२) स्तम्भको बीच रेखामा तारबार र गेट निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ ।

साथै, ५ (१) र ५ (२) सीमास्तम्भलाई चीनले तारबार गरी राखेको छ । पुरानो ५ (२) सीमास्तम्भलाई चीनले उखेलेर एकतर्फी रुपमा नयाँ बनाइएको टोलीले जनाएको छ । दुई देशको सीमानामा ५ देखि १२ सम्म सीमास्तम्भ छन् । हुम्ला सदरमुकाम सिमीकोटबाट उक्त क्षेत्र झण्डै ५० कोस टाढा छ ।
नाम्खा गाउँपालिकाको वडा नं.६ मा नेपाल–चीन सीमा क्षेत्र छ । उक्त क्षेत्रमा चीनले सीमा मिचेको सार्वजनिक भएसँगै कांग्रेस टोली स्थलगत निरीक्षणमा पुगेको थियो ।

प्रकाशित :२७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्