ब्रेक्जीटका लागि युरोपेली युनियनले दियो थप छ महिना



एजेन्सी : युरोपेली नेताहरुले बेलायतलाई युरोपेली युनियन (इयू)बाट बहिर्गमन (ब्रेक्जीट) का लागि अरु छ महिना समय थप गर्न सहमत भएका छन् । यसै साताको अन्त्यमा बिना सम्झौता बेलायतको बहिर्गमन हुँदा उत्पन्न हुन सक्ने अस्तव्यस्त स्थिति तत्कालका लागि टरेको छ ।

ब्रेक्जीटको नयाँ मितिका लागि ब्रसेल्समा बुधबार अबेर रातिसम्म बैठक बसेको थियो । बेलायती प्रधानमन्त्री थेरेसा मेले जनभावना बमोजिम नै ब्रेक्जीट सम्झौताका लागि कार्य गर्ने र संसदबाट पनि अनुमोदन गर्ने बताइन् । उनले आफ्नो मुख्य लक्ष्य नै जतिसक्दो चाँडो इयूबाट अलग्गिनु रहेको स्पष्ट पारे । 

उनले नयाँ सहमतिका बारेमा बेलायती तल्लो सदन हाउस अफ कमन्सलाई बिहीबार जानकारी गराउनेछिन् । साथै उनले राजनीतिक गतिरोध अन्त्यका लागि मुख्य विपक्षी दल लेबर पार्टीसँग पनि वार्तालाई अघि बढाउनेछिन् । 

इयूका अरु २७ सदस्य राष्ट्रका नेताहरुले भने बेलायतको प्रस्ताव भरपर्दो नभएको बताउँदै बेलायतलाई थप समय दिनु आवश्यक नरहेको जिकिर गरेका थिए । तर युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्कले आगामी अक्टोबर ३१ सम्मको समयावधि दिन उपयुक्त हुने बताएका थिए । 

ब्रेक्जीटका बारेमा प्रधानमन्त्री मेले गत नोभेम्बरमा गरेको सहमतिलाई बेलायती संसदले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्