नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ कोरोना संक्रमित थपिए



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबार नियमित अपडेटमा जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ ।

यसअघि सोमबारको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ थियो । पछिल्लो २४ घण्टामा थप १५०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७८ हजार ७८० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २७७ रहेको थियो ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६४५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

त्यस्तै उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । प्रवक्ता डा.गौतमका अनुसार काठमाडौंमा १ हजार ७ सय ४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना रहेका छन् ।

सोमबार उपत्यकामा २२ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जस अनुसार काठमाडौंमा १ हजार ८ सय ८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना रहेका थिए । योसँगै उपत्यकामा संक्रमितको संख्या ४६ हजार ४ सय ९७ पुगेको छ ।

प्रकाशित :२७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्