भक्तपुरमा कोरोना संक्रमित युवकको मृत्यु



काठमाडौं : महोत्तरीको पिपरा गाउँपालिका-५ का २५ वर्षीय युवकको भक्तपुरमा कोरोनाले मृत्यु भएको छ ।

मिर्गौलाको रोग रहेका उनको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई असोज २२ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २३ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणपछि गम्भीर भएका उनको मंगलबार अस्पतालमै मृत्यु भएको हो । उनको शव महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाको विशेष टोलीले पशुपति आर्यघाटमा व्यवस्थापन गरेको छ । काठमाडौंमा युवकको मृत्यु भएसँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

पछिल्लो समय नेपालमा कोरोना कोरोना तिब्र रुपमा फैलिरहेको छ । अहिलेसम्म १ लाख १५ हजार ३५८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ७८ हजार ७८० जना डिस्चार्ज भएका छन् भने ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार कोरोनाले ६६३ जनाको मृत्यु भएको छ ।

प्रकाशित :२८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्