उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा पाँचकाे मृत्यु, ३ जना घाइते



काठमाडौं । उदयपुरको कटारी–१४ मा स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

सिद्धिचरण राजमार्गमा पर्ने भदौरे भिरबाट स्कोर्पियो खस्दा ५ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका हुन् ।

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो गएराती १ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले बताए ।

दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ घर भएका ४६ वर्षीय रामबहादुर सार्की र २७ वर्षीय कर्मे सार्कीको मृत्यु भएको छ । अन्यको सनाखत भएको छैन ।

यस्तै घाइते हुनेमा रुपन्देहीका घर भएका २८ वर्षीय चालक पवन खड्का, ओखलढुंगा मानेभञ्ज्याङ–९ की १८ वर्षीया कल्पना सार्की र ३३ वर्षीया कुमारी सार्की छन् ।

३ जना घाइतेलाई प्रहरीले उद्धार गरेर कटारीस्थित अस्पतालमा पठाएको छ ।
डिएसपी गौतमका अनुसार चालकको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्