‘रअ’का हाकिमसामु राष्ट्रवादको हरिबिजोग



कूटनीतिज्ञ भन्छन्– ‘गुप्तचरका मुखिया एयरफोर्सको जहाज चढेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएका छन्, देश कूटनीतिक रूपमा धराशायी भएको अवस्था हो । राष्ट्रवादी र देशभक्त नागरिकका लागि योभन्दा लज्जाको विषय केही हुन सक्दैन, देशको शिर झुकेको छ ।’

अपरेसनमा आइएफसी ४६२० :भोटर आइडी कार्ड देखाएर अध्यागमनबाट भित्र आए गुप्तचर प्रमुख

गुप्तचर हाकिमको जहाज आउन लागेको जानकारी पर्यटन मन्त्रालयले बुधबार बिहान मात्रै नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई जानकारी गराएको थियोे । आइएफसी ४६२० कलसाइनको जहाज बुधबार १ बजे काठमाडौं अवतरण गर्ने र बिहीबार बिहान ९ः४५ बजे फर्कने गरी फ्लाइट प्लान छ । गुप्तचरका प्रमुख सामन्तकुमार गोयलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा परिचयपत्रको रूपमा भोटर आइडी कार्ड देखाएका थिए । त्यस्तै, उनीसँगै आएका अरुण जैनले अर्डिनरी पासपोर्ट प्रस्तुत गरेका थिए ।

छिमेकी भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुको सट्टा सरकारले भारतीय गुप्तचर प्रमुखलाई स्वागत गरेको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको टोली नेपाल आएर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई भेटेको छ ।

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको छ । उनीहरूलाई लिएर आएको भारतीय एयरफोर्सको जहाज अपराह्न १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

‘सो जहाज आउन लागेको जानकारी पर्यटन मन्त्रालयले बुधबार बिहान मात्रै नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई गराएको थियोे,’ विमानस्थलका ती अधिकारीले भने, ‘आइएफसी ४६२० कलसाइनको जहाज बुधबार १ बजे काठमाडौं अवतरण गर्ने र बिहीबार बिहान ९ः४५ बजे फर्कने गरी फ्लाइट प्लान आएको छ ।’

गुप्तचरका प्रमुख गोयलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा परिचयपत्रको रूपमा भोटर आइडी कार्ड देखाएका थिए । त्यस्तै, उनीसँगै आएका अरुण जैनले अर्डिनरी पासपोर्ट प्रस्तुत गरेका थिए ।

गोयलले बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेका छन् । पौने १६ घन्टा काठमाडौं बसाइमा उनले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाललगायतलाई भेट्ने तालिका छ । गोयलसँगै आएका अरुण जैन भूकम्पको वेला नेपालस्थित भारतीय दूतावासमा कार्यरत थिए ।

भारतसँग हाम्रा समस्या पनि छन् जसको समाधान गरी मित्रता कायम गर्नु अपरिहार्य छ । तर, त्यसका लागि देशको प्रधानमन्त्रीले गुप्तचरका हाकिमसँग संवाद गर्ने रु भारतीय एयरफोर्सको जहाजमा आएका गोयल काठमाडौंमा भेटघाटमा व्यस्त भइरहेको वेला कूटनीतिक क्षेत्रमा बहस सुरु भएको छ ।

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल
गुप्तचर संस्थाको प्रमुख विमान चार्टर्ड गरेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषयलाई कूटनीतिज्ञहरूले एउटा सार्वभौम देशको दुर्भाग्य भनेका छन् । ‘हाम्रा प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग र गुप्तचरका हाकिमले उनकै समकक्षीसँग वार्ता गर्नुपर्ने हो । तर, उताका गुप्तचर प्रमुख सीधै प्रधानमन्त्रीसँग भेटवार्ता गर्न विमान चार्टर्ड गरेर आउँछन् । कूटनीतिक रूपमा पनि धराशायी भएको अवस्था हो । राष्ट्रवादी र देशभक्त नागरिकका लागि योभन्दा लज्जाको विषय केही हुन सक्दैन, देशको शिर झुकेको छ,’ एक कूटनीतिज्ञले नयाँ पत्रिकासँग भने ।

जब कि लिपुलेक, कालापानी र लिम्पियाधुराको नेपाली भूमि नेपाली नक्सामा समेटिएको छ, तर त्यो क्षेत्रमा अहिले पनि भारतीय फौज छ । यस्तो विषयमा देश र संसद्को सर्वसम्मत समर्थन पाएको सरकारले भारतीय गुप्तचर संस्थाका प्रमुख बोलाएर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसँग वार्ताको वातावरण बनाएको छ ।

गुप्तचरले प्रधानमन्त्रीनिवासमा न्यानो स्वागत पाउँदा दुई देशबीच हुनुपर्ने कूटनीतिक स्तर हुनुपर्ने संवाद भने रोकिएको छ । कोभिड– १९ को महामारीका कारण भन्दै भारतले वार्ता सार्दै आएको छ । महामारी मत्थर भएपछि भारतीय विदेशसचिव हर्षबर्द्धन शृंगलाको नेपाल भ्रमण हुने भनिएको छ ।

‘नेपाल र भारतबीच सम्बन्ध सुधार्न परराष्ट्रसचिवस्तरीय वार्ता सुरु गर्नुको विकल्प केही हुन सक्दैन, यसका लागि सकारात्मक पहलकदमी लिनुपर्छ,’ परराष्ट्रविद् एवं पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नयाँ पत्रिकासँग भने ।

भारतले गत वर्ष १६ कात्तिकमा जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेपछि नेपालले भारतलाई कूटनीतिक नोट पठाएर विरोध जनाउँदै वार्ताका लागि आग्रह गरेको थियो । नेपालले ४ मंसिरमा पत्र पठाएको थियो । भारतलाई पठाएको पहिलो चिठीमा विदेशसचिवस्तरीय बैठक कहिले बस्न उपयुक्त होला भन्ने जिज्ञासा राखिएको थियो । तर, भारतले कुनै ‘रेस्पोन्स’ नगरेपछि नेपालले एक सातापछि दोस्रो पत्र पठाएको थियो । दोस्रो पत्रमा भने नेपालले दुईवटा वैकल्पिक मिति प्रस्ताव गरेको थियो । पत्रमा पहिलो मिति डिसेम्बर पहिलो साता ९मंसिर १६ देखि २३०का कुनै पनि दिन भनिएको थियो भने यसमा सम्भव नभए डिसेम्बर तेस्रो साता ९मंसिर ३० देखि ६ पुस०को कुनै दिन वार्तामा बस्न नेपाल तयार भएको उल्लेख थियो ।

नेपालले दोस्रो चिठी पठाएको एक महिनासम्म भारतले कुनै जवाफ पठाएन । ‘उसले हाम्रो सरोकार र संवेदनशीलतालाई बेवास्ता गरेको हो । हामीले वार्ताका लागि प्रस्ताव गरेको मिति गुज्रिसकेपछि मात्र जवाफ आयो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन् । भारतले वार्ताबाट समस्या समाधान गर्न तयार रहेको औपचारिक जवाफ मात्रै पठायो, मितिबारे केही उल्लेख गरेको थिएन ।

तत्कालीन परराष्ट्रसचिव शंकरदास बैरागीले भारतका नयाँ विदेशसचिव हर्षबर्द्धन शृंगलालाई पठाएको बधाई सन्देशमा परराष्ट्रसचिवस्तरीय वार्ताबारे स्मरण गराएका थिए । त्यस्तै, राजदूत नीलाम्बर आचार्यले उनलाई भेटेर पनि यो विषयमा ध्यानाकर्षण गराएका थिए । तर, यसमा अहिलेसम्म ठोस जवाफ आएको छैन ।

विदेशसचिव शृंगलाले पहिलो चरणमा भुटान, बंगलादेश र अफगानिस्तानको भ्रमण गरे, उनी फेरि बंगलादेशको भ्रमणमा पनि निस्किए । तर, नेपाल आउने मिति तय भएन । ‘उनीहरू संसार घुमेका छन्, वार्ता गरेका छन् । तर, नेपालले स्मरण गराउँदा कोभिड छ भन्छन् । कोभिडबीच विदेशसचिव आउन नमिल्ने, गुप्तचरका हाकिम भने आउन मिल्ने रु यसमा हाम्रो कूटनीतिक ओज निकै खस्किएको देखियो,’ परराष्ट्रका अधिकारीले भने । नेपालले भर्चुअल माध्यमबाट भए पनि वार्ता गरौँ भन्ने प्रस्ताव पठाउँदा पनि भारतले बेवास्ता गरेको छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्