बसिरलाई अपदस्थ गरेका सेना प्रमुखको राजीनामा



काठमाडौं: सुडानमा लामो समयदेखि सत्ता चलाइरहेका राष्ट्रपति ओमर अल बसिरलाई अपदस्थ गरेका सेना प्रमुख अवाद इब्न औफले राजीनामा दिएका छन् । अवादले पद छोड्ने एक सरकारी टिभीमार्फत जानकारी दिएका छन् । उनले सैन्य कू गरेको १ दिनमा आफ्नो अघिल्लो निर्णयबाट पछि हट्ने नयाँ निर्णय गरेका हुन् ।

लेफ्टिनेन्ट जनरल अब्दुल फतह अब्दुररहमा बुरहानलाई सुडानको नेतृत्वका लागि उनले जिम्मा लगाएका छन् । अवाद सुडान मिलिट्री आउन्सिलका प्रमुख थिए । उनकै अगुवाइमा गत बुधबार बसिरलाई अपदस्थ गरिएको थियो । सुडानका रक्षामन्त्रीसमेत रहेका उनले तीन दशकदेखि सुडानको राष्ट्रपतिमा सत्तासीन ओमर अली बसिरलाई पक्राउ गरी बिहीबार मात्रै सत्ता आफ्नो हातमा लिएका थिए ।

राष्ट्रपतिविरुद्धको जनमतबाट हौसिएका उनको प्रक्षेपण गलत भएको र जनमत आफ्नो पक्षमा नरहेको थाहा पाएपछि उनी पछि हटेको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् । उनको कदमको विरुद्ध जनता सडकमा आएपछि उनले दमनभन्दा राजीनामाको बाटो रोजेका हुन् । नयाँ परिस्थितिलाई सेनाले नै सम्हाल्ने र दुई वर्षभित्र निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्