नेकपा र काँग्रेसका नेता कार्यकर्तामाथि महोत्तरीमा सांघातिक आक्रमण



जनकपुरधाम : महोत्तरीको एक नगरपालिकामा नगरप्रमुखकै प्रत्यक्ष संलग्नतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुमाथि सांघातिक हमला गराइएको छ ।

महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलको उपस्थितिमा कात्तिक १० गते राति गराइएकोे सांघातिक हमलामा परी महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका नेकपाका प्रत्यासी विजय कुमार चौधरीसहित ३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका नेकपाका प्रत्यासी मटिहानी नगरपालिका वडा नम्बर–८ का ५७ वर्षीय विजय कुमार चौधरी, उनका ४८ वर्षीय भाई नेपाली काँग्रेसका सक्रिय सदस्य जितेन्द्र चौधरी र मटिहानी नगरपालिका वडा नम्बर–७ का काँग्रेसकै नेता ५३ वर्षीय गणेश प्रसाद साह रहेका छन् ।

गत कात्तिक १० गते विजयदशमीको राति मटिहानी नगरपालिका वडा नम्बर– ७ मा दुई पक्षबीच विवाद भएको थियो । विवाद उग्ररुप लिन थालेपछि घटनालाई साम्य पार्न प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुगेको प्रहरी टोलीमाथी नै मेयरका कार्यकर्ताहरुले हातपात गरेपछि प्रहरीले लाठीचार्ज गरेको स्थानीयले बताए । प्रहरीको लाठीचार्जमा दूबै पक्षका व्यक्तिहरु घाइते भएको स्थानीयले जानकारी दिएपनि प्रहरीले भने अनभिज्ञता जनाएको छ ।

घाइतेमध्येका विजय कुमार चौधरीले नगरप्रमुख हरि मण्डलकै उपस्थिति तथा प्रत्यक्ष संलग्नतामा घटना घटाइएको आरोप लगाएका छन् । चौधरीले नगरप्रमुख मण्डल पक्षधर र अर्को गुटबीच विजयदशमीका राति ९ बजे भएको विवादको क्रममा प्रहरीको लाठीचार्जमा परी दुबै पक्षबाट केही व्यक्ति घाइते भएको बताए । उनले भने,‘घाइते भएका व्यक्तिहरुलाई सान्त्वना दिन सोही राति साढे १० बजे हामीहरु पुगेका थियौँ, उनीहरुलाई सम्झाई बुझाई आफुहरु घर फर्किदै गर्दा आफुहरुमाथि नगरप्रमुख मण्डलको उपस्थितिमा आक्रमण गरियो ।’

‘घटनास्थलबाट घर फर्किदै गर्दा नगरप्रमुखसहित २०/२५ जनाको समूहमा व्यक्तिहरु आएर एकाएक आफुहरुमाथि हमला गरे,’ उनले भने, ‘उनीसँगै रहेका शैलेन्द्र मण्डल भन्ने व्यक्तिले मेरो घाँटीमा छूरा प्रहार गरे ।’

छूरा घाँटीको छेउमा मात्रै लागेकोले आफू अहिले सुरक्षित रहेको उनले बताए । आफूसँगै रहेका आफ्ना भाई लगायत गणेश साहको शरिरको बिभिन्न भागमा छुरा प्रहार गरिएकोले उनीहरुको अवस्था सिकिस्त रहेको चौधरीले बताए ।

केहीदिन यता नगरमा भएको विकास तथा कामहरुको प्रगतीबारे वडा वडामा गएर जागरण अभियान चलाएकोले नगरप्रमुखले आफुहरुमाथि गुण्डा लगाएर आक्रमण गराएको हुनसक्ने उनले दाबी गरे ।

मेयर हरि मण्डल लगायत शैलेन्द्र मण्डल, रामपदारथ मण्डल, रितेश कुमार मण्डल, नरेश महतो, खेमराज मण्डल, गोवीन्द मण्डल, संतोष कुमार मण्डल, श्याम कुमार मण्डल, अजय मण्डल, रञ्जन कुमार मण्डललगायतका व्यक्तिहरुले आफुहरुमाथि सांघातिक आक्रमण गरेको उनले आरोप लगाए ।

यता नगरप्रमुख हरि मण्डलले सो घटनामा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । उनले भने, ‘नगरमा भएको सो घटनामा आफ्नो संलग्नता नरहेपनि विपक्षीहरु राजनीतिक प्रतिशोधका कारण आफ्नो नाम उचालिरहेका छन् । उल्टै हाम्रै पक्षका ६ जना घाइते भएका छन्, अनि मेरै उपस्थितिमा सांघातिक आक्रमण गराइएको भन्नु हास्यास्पद हो ।’ नगरप्रमुख मण्डलले दुई पक्षबीच हात हालाहाल भएको कुरा स्विकार गर्दै घटनामा छूरा प्रहार भएको कुरामा कुनै सत्यता नरहेको दावी गरे ।

घटनाको ३ दिन बितिसक्दा पनि घटनामा संलग्नहरुमाथि कारवाही गर्नुको सट्टा महोत्तरी प्रहरी भने घटना ढाकछोप गर्न सक्रिय देखिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिका बहादुर केसीसँग घटनाबारे जानकारी लिन खोज्दा उनले घटना बारे अनुसन्धान भईरहेको बताए । घटना भएको ३ दिन भईसक्दा समेत अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।

यसैगरी नगरप्रमुख मण्डलको प्रत्यक्ष संलग्नता तथा उनका हाली मुहालीद्वारा घातक हतियारको प्रयोग गरि नेपाली काँग्रेसका सक्रिय सदस्य जितेन्द्र चौधरी, गणेश प्रसाद साह तथा संसदीय क्षेत्र नम्बर–३ का सांसदका उम्मेदवार विजय कुमार चौधरीलाई ज्यान मार्ने उद्देश्यले घटना घटाइएको भन्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति महोत्तरीले दोषी माथि कडा कानूनी कारवाहीको माग गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गर्न प्रहरीसँग अपिल गरेको छ ।

नेपाली काँग्रेस महोत्तरीका सचिव शम्भू नारायण पाठकले बिहीबार एक विज्ञप्ती जारी गर्दै घटना सम्बन्धमा छानविनका लागि प्रशासनसँग माग गरेका छन् ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्