टर्की र ग्रिसमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु



इस्तानबुल : टर्की र ग्रिसमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । साथै भूकम्पमा परी करिब ८ सय जना घाइते भएका छन् । शुक्रबार गएको भूकम्पमा परी टर्कीमा २४ जना र ग्रिसमा २ जनाको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ग्रिसको सामोस टापुमा भवनले च्यापिएर एक किशोर र एक किशोरीको मृत्यु भएको छ ।

एजियन सागरलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले टर्कीको समुद्री किनारमा रहेको इज्मिर सहरमा धेरै क्षति पु-याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इज्मिरमा मात्रै २० भन्दा बढी भवन भत्किएको मेयर तंक सोयरले जानकारी दिएका छन् ।

भत्किएका भवनभित्र अझै कति मानिस फसिरहेका छन् भन्ने यकिन जानकारी प्राप्त नभएको अधिकारीले बताएका छन् । केहीलाई भने उद्धार गरिएको छ ।

भूकम्पपछि टर्कीको पश्चिमी किनारमा सानो सुनामी पनि आएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । सुनामीका कारण सहरमा पानी पसेको छ भने घरभित्र भएका सामानहरु पानीले बगाएको तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा सेयर गरिएको छ ।

भूकम्पपछि १९६ वटा परकम्प गएको पनि टर्किस अधिकारीले बताएका छन् । तीमध्ये २३ वटा परकम्प ४ म्याग्निच्युडभन्दा माथिका थिए ।

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्