जनता आवास कार्यक्रमको कार्यालयमा तालाबन्दी



रौतहट : सहरी विकास तथा भवन कार्यालयअन्तर्गत रौतहटको गौरमा रहेको जनता आवास कार्यक्रम कार्यान्वयन इकाई कार्यालयमा तालाबन्दी गरिएको छ ।

दलित समुदायका लागि आएको एक अर्ब रुपैया फ्रिज भएपछि आक्रोशित रौतहटका दलित समुदायले सो कार्यालयमा तालाबन्दी गरेका हुन् । नेपाल राष्ट्रिय मुसहर संघ र मधेशी दलित विकास महासंघको नेतृत्वमा गएका व्यक्तिहरुले सो कार्यालयमा तालाबन्दी गरेका थिए ।

पर्साको वीरगञ्जमा रहेको सहरी विकास तथा भवन कार्यालयमा कार्यरत अधिकारीका कारण गरिब, असहाय तथा दलित समुदायका लागि आएको रकम फ्रिज भएको महासंघका अध्यक्ष धर्मेन्द्र पासवानले बताए । सरकारले रकम पठाउने तर सरकारी अधिकारीले कुनै आधार र कारण बिनानै सम्बन्धित समुदायसमक्ष रकम निकासा रोक्ने गरेको आरोप लगाउँदै उनले यसको निकास नभएसम्म कार्यालयमा तालाबन्दी जारी रहने बताए ।

गत वर्षदेखि नै रौतहटमा जनता आवास कार्यक्रमको रकम निकासा अवरुद्ध हुँदैआएको छ । रौतहटका करिब तीन हजार घर परिवारका लागि आएको एक अर्बभन्दी बढी रकम जानी जानी फ्रिज गरिएकोले बाध्य भएर तालाबन्दी गरेको उहीहरुले बताएका छन् । घर निर्माणका लागि फाराम दर्ता गराउनेदेखि आवश्यक कागजात प्रमाण जुटाउन एक परिवारलाई करिब पाँच हजार रुपैयासम्म खर्च गर्नुपरेको तर त्यसको उपलब्धि शुन्य रहेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्