पुजाको प्रसाद खाँदा विराटनगरमा एकै गाउँका ४० जना बिरामी



विराटनगर : जिल्लाको रंगेली नगरपालिका ७ मा पुजाको प्रसाद खाँदा एकै गाउँका ४० जना बिरामी भएका छन् ।

कोजाग्रत पूर्णिमाको दिन पिन्टु दत्तको घरमा लगाएको लक्ष्मी पूजाको प्रसाद खाँदा उनीहरु बिरामी भएका हुन् ।

कोजाग्रत पूर्णिमाको दिन बंगाली समुदायले लक्ष्मी पूजा गर्ने र सो रात जागाराम समेत बस्ने भएकाले त्यसदिन छरछिमेक भेला भएर दत्तले बाँडेको पूजाको प्रसाद खाएका थिए । प्रसाद खाने अधिकांश बिरामी भएको र उनीहरुको रंगेली अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । पूजाको प्रसाद खाएको २४ घण्टा नबित्दै प्रसाद खानेहरुलाई झाडापखाला शुरु भएपछि धमाधम अस्पताल आउन थालेको अस्पतालकी मेडिकल अधिकृत स्वेता मण्डलले जानकारी दिइन् ।

प्रसाद खाएकालाई ‘फुड पोइजन’ भएको र उनीहरुमा झाडापखाला, बान्ता, ज्वरो र पेट दुख्ने समस्या देखिएको मण्डलले बताइन् ।

अस्पतालमा अन्य बिरामीसहित ‘फुड पोइजन’का बिरामी समेत पुगेपछि अस्पतामा बेड अभावका कारण केहीलाई घरमा नै स्लाइन पानी चडाएको मण्डलले जानकारी दिइन् ।

प्रकाशित : कात्तिक १७, २०७७

प्रतिक्रिया दिनुहोस्