गाउँपालिका अध्यक्षको दादागिरी, क्लबको भवन भत्काउने काम असफल



पर्सा : पर्साको कालिकामाई गाउँपालिका वडा नं.२ गदियानीस्थित एक समाजिक संस्थाको भवन भत्काउने जनप्रतिनिधिको प्रयास स्थानियले असफल बनाइ दिएका छन् ।

ब्रिलिएन्ट युवा क्लब नामक स्थानिय गैर सरकारी संस्थाको भवन भत्काउन जेसीबी लिएर गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा र वडाध्यक्ष सोनालाल प्रसाद चौरसिया प्रहरीको साथमा पुगेका थिए । क्लबको भवन भत्काउने थाह पाए लगतै स्थानियहरु विरोधमा उत्रेपछि उनीहरुको प्रयास असफल भएको हो ।

गाउँवासीहरुले गाउँपालिका अध्यक्ष कुशवाहा र वडाध्यक्ष चौरसियासंग किन भवन भत्काउन खोज्नु भएको ? प्रश्न गर्दै बिरोधमा उत्रे पछि केही बेर तनावसमेत भएको थियो । तनावलाई झडपमा परिणत हुन नदिन प्रहरीले छलफलको लागि दुबै पक्षलाई बसाएको थियो ।

क्लब कै छतको भवनमाथि करिब डेढ घण्टा जति भएको छलफलबाट गाउँपालिका अध्यक्ष कुशवाहा र वडाध्यक्ष चौरसियाको अडान पुरा नभएपछि बाहिरिएका थिए । क्लबको भवन भत्काउने एउटै अडानका कारण छलफलबाट दुबै जना निस्किएपछि कुनै निस्कर्ष निस्कन सकेको थिएन ।

त्यपछि उनीहरु जेसीबी लिएर फिर्ता भएका थिए । उनीहरुले भत्काउन खोजेको क्लबको भवन कुनै बाटोमा पनि परेको छैन । अकास्मात बिना कुनै सुचना गाउँपालिका अध्यक्ष र वडाध्यक्षले पावरको दुरुपयोग गर्दै राजनितिक रिसिभी साध्न क्लबको भवन भत्काउन पुगेपछि आफुसहित गाउँवासी आश्चर्य चकित भएको क्लबका अध्यक्ष छठु साहले वताएका छन् । उनले भने,‘हामीहरुले कुनै पनि हालतमा निर्माण भएको संरचना भत्काउन नदिने अडान लिएपछि उहाँहरु फिर्ता जानु भएको हो ।’ उनका अनुसार करिब १५ वर्ष पहिला ७ दलिय निर्णय अनुसार क्लबलाई भवन निर्माण गरी कार्यालय संचालनको लागि १० धुर जग्गा प्रदान गरिएको थियो ।

सोही निर्णय अनुसार करिब १० वर्ष पहिला गदियानीस्थित सार्वजनिक पोखरिको डिलमा निर्माण गरिएको भवन भत्काउन जनप्रतिनिधिहरु पुगेका थिए । क्लबको कार्यालय संचालन रहेको भवन भत्काउन जिल्ला अदालत देखी सर्वाेच अदालसम्म मुद्दा पनि चलेको थियो । न्यायलयसम्म पुगिसकेको विषयलाई कसैले हस्तक्षेप गर्न नमिल्ने प्रावधान भए पनि जनप्रतिनिधिहरुले आफ्नो पद र पावरको दुरुपयोग गर्दै भवन भत्काउन जेसीबी लिएर पुगेपछि स्थानियहरु आक्रोशित भएका हुन् ।

सार्वजनिक जग्गामा निर्माण गरिएको भवनमा संस्थाको कार्यालय संचालन गर्न दिनु छैन भने गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरेर अन्य थोक पनि संचालन गर्न सकिने उनीहरुको भनाई रहेछ । भत्काउन खोजिएको भवनलाई धर्मशाला अथवा पशु अस्पताल बनाउन सकिने स्थानियहरुको माग रहेको छ । तर चन्दा संकलन गरेर स्थानिय युवाहरुले निर्माण गरिदिएको संरचना कुनै पनि हालतमा भत्काउन नदिन स्थानिय नगिना राउत गद्दिले वताए ।

उनले भने “हाम्रो गाउँमा एउटा धर्मशाला पनि छैन् । नत्र पशु अस्पताल नै छ । ठिक छ क्लबको कार्यालय संचालन गर्न दिनु छैन् भने निर्माण गरेको भवन धर्मशाला कायम गर्नु पर्छ अथवा भवन अगाडी पशु अस्पतालको लागिसमेत रहेको संमरचनाको सदुपयोग गर्दै पशु अस्पताल बनाउन सकिन्छ । अर्का स्थानिय उदेश्य गिरीले पनि निर्माण भएको संरचना भत्काउन नहुने वताए । निर्माण भएको संरचनाको फाइदा उठाउदै त्यसको कुनै प्रयोगमा ल्याउनु पर्ने वताए । जबर्जस्ती भत्काउन खोजिए त्यो गलत हुने र त्यस्तो हुन नदिने वताए ।

स्थानिय जेष्ठ नागरिक अशेसर राउतले पनि भत्काउन खोजिएको भवनलाई धर्मशाला कायम गरिए यहाँको गरिब जनतालाई धेरै राहत हुने वताए । उनले भने “निर्माण भएको भवन भत्काएर के फाइदा ? त्यसो पनि यहाँ कुनै एउटा सार्वजनिक भवन पनि छैन । एउटा छ पनि त्यसलाई भत्काउनु खोज्नु एकदमै गलत हो । धर्मशाला कायम गरिए गरिब जनताको छोरा र छोरीको बिहेबारी गर्न सजिलो हुने थियो “

गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुरले क्लबको भवन भत्काउन कार्यापालिकाबाट कुनै किसिमको निर्णय नभएको बताए । उनले भने समाजिक संस्थाको भवन भत्काउन कार्यपालिकाको बैठकबाट निर्णय हुनै सक्दैन । कसैले त्यस्तो गलत निर्णय गराउन खोजे आफुहरु हुन पनि नदिने वताए ।

गाउँपालिपालिकाका प्रवक्तासमेत रहेका गाउँ कार्यपालिकाको सदस्य एंव वडा नं. ५ का वडाध्यक्ष पवन तिवारीले भवन भत्काउन कार्यपालिकाबाट निर्णय भए नभएको आफुलाई जानकारी नभएको वताए । गाउँ कार्यपालिकाको निर्णय भए नभएको बारे बुझ्न प्रमुख प्रशासकिय अधिकृतसंग फोन सम्पर्क गर्न खोज्दा फोन नउठेका कारण सम्पर्क हुन सकेन । केही बेर पछि फेरी फोन गर्दा उनले आफ्नो मोबाइल स्विच अफ गरिदिए ।

प्रकाशित :२१ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्