आजदेखि रौतहटमा २६ दिनका लागि निषेधाज्ञा



जनकपुरधाम : कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले आज ९शुक्रबार० रातीदेखि लागू हुनेगरि जिल्लाभर २६ दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० तथा संक्रामक रोग ऐन, २०२० को दफा ३ र ४ अनुरुप चाडपर्वमा हुनसक्ने भिडभाडलाई लक्षित गर्दै आज राती १२ बजेदेखि लागू हुनेगरि आगामी मंसिर १७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय रौतहटले दीपावली तथा छठ पर्वमा भिडभाड नगरि यस वर्ष चाडपर्व मनाई कोरोना संक्रमण न्यूनिकरण गर्न स्वास्थ्य र सुरक्षा मापदण्ड तथा प्रोटोकलको पालना गर्दै जनजीवनलाई पनि अनुकुलन तुल्याउन आवश्यक देखिएको हुँदा मंसिर १७ गते राती १२ बजेसम्मका लागि जिल्लाभर लागु हुने गरि निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले सार्वजनिक खेलकुद, नाच, तमासा, मेला वा भिडभाड हुने कार्यक्रमको आयोजना नगर्न, सभा, जुलुस, वा प्रदर्शन हुने जस्ता कार्य नगर्न, चाडपर्व लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पुजा, आराधना बाहेकका गतिविधिहरु सञ्चालन नगर्न, स्वास्थ्य मापदण्ड विपरीत यातायात, उद्योग, व्यापार, व्यवसायलगायतका गतिविधीहरु सञ्चालन नगर्न आग्रह गरेको छ ।

समुदाय स्तरमा कोरोना नफैलियोस भन्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

रौतहटमा शुक्रबारसम्म २ सय ६ जना सक्रिय संक्रमितहरु रहेका छन् भने संक्रमणका कारण हालसम्म १० जनाले ज्यान गुमाईसकेका छन् ।

प्रकाशित : २१ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्