ट्रम्पका वकिलले भनेः ट्रम्पले मतपरिणाम स्वीकार गर्दैनन् !



वासिङटन : डोनल्ड ट्रम्पका निजी वकिल रुडी गिलानीले यस निर्वाचनलाई डोनल्ड ट्रम्पले अस्वीकार गर्ने बताएका छन् ।

डेमोक्र्याट उम्मेदवार जो बाइडेन विजयी भइसकेको अवस्थामा रुडीले यस्तो बताएका हुन् । बाइडेनले चुनाव जितिसके पनि अब उनले राष्ट्रपति पद सम्हाल्न अझै केही साता लाग्नेछ । यससँगै बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति बनेका छन् ।

पेन्सिल्भेनियामा मतगणना गर्ने क्रममा धाँधली भएको भन्दै ट्रम्पले मतपरिणाम अस्वीकार गर्ने प्रतिक्रिया दिएका हुन् । तर यसबारे उनले कुनै प्रमाण पेश गरेका छैनन् । गिलानीका अनुसार ट्रम्पले केही राज्यको मतगणनाविरुद्ध उजुरी दिँदैछन् ।

साथै फिलाडेल्फिया राज्यमा मतगणनामा तनाब हुनुमा त्यहाँ ‘डेमोक्रेटिक मेसिन’ भएको पनि उनले आरोप लगाए । साथै मृत मानिसहरुको नाममा पनि भोट दिइएको उनको आरोप थियो । तर गिलानीले यसबारे कुनै प्रमाण पेश गरेका छैनन् ।

पेन्सिल्भेनियामा ट्रम्पले सुरुमा जितिरहेको अवस्थामा हुलाकबाट आएका मतमा अनपेक्षित रुपमा गुमाउनुपरेको कुरालाई लिएर गिलानीले प्रश्न उठाएका छन् । साथै यसलाई ट्रम्प र गिलानी दुबैले धाँधली भएको भन्दै आरोप लगाएका हुन् ।

ट्रम्प सुरुदेखि नै हुलाक र इमेलबाट मतदान गर्ने कुराको विरोध गर्दैआएका थिए । त्यसो त, विश्लेषकहरुले ट्रम्पलाई हुलाकबाट आउने भोटमा ट्रम्प पछि पर्ने टिप्पणी चुनावअघि नै गरेका थिए ।

यस्तै गिलानीले मिडिया ट्रम्पप्रिति पूर्वाग्रही बनेको र उनीविरुद्ध घृणा फैलाएको आरोप पनि लगाए । शनिबारको अन्तिम मतपरिणाम अनुसार जो बाइडेनले २७३ इलेक्टोरल भोट ल्याउँदै विजयी भए । यस्तै उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी बनिन् । अन्नपूर्णपोष्ट दैनिकबाट

प्रकाशित : कात्तिक २३, २०७७

प्रतिक्रिया दिनुहोस्