खोटाङकाे हलेसी मन्दिर नजिकै बस दुर्घटना : एकको मृत्यु, १४ घाइते 



काठमाडाैं  : खोटाङ बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। काठमाडौंबाट दिक्तेलका लागि छुटेको ना४ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका ७ मा दुर्घटनामा परेको थियो। 

 

हलेसी महादेवस्थान नजिकै रिट्ठाबोटेमा बस पल्टेको हो। दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी दोर्पाचिउरीडाँडाका ३२ बर्से गर्जबहादुर राईको निधन भएको छ। गम्भीर घाइते उनलाई एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लगिए पनि बाटैमा ज्यान गएको खोटाङका डीएसपी राजकुमार केसीले बताए।

 

घाइतेमध्ये ६ जनालाई टिचिङ अस्पताल काठमाडौं ल्याइएको छ। घाइते बस चालकलाई जिल्ला अस्पताल दिक्तेलमा राखी उपचार भइरहेको छ। सडकबाट चिप्लिएर बस रूखमा ठोक्किएको थियो। यद्यपि रूखमै बस अड्किएकाले ठूलो मानवीय क्षति भने हुन पाएन । बसमा चालकसहित १५ जना सवार थिए। 

प्रतिक्रिया दिनुहोस्