शाक्य विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त



काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

शाक्यलाई सोमबार निमित्त कार्यकारी निर्देशकमा ऊर्जा मन्त्रालयले नियुक्त गरेको हो । शाक्यलाई एनईए इन्जिनियरिङ कम्पनीमा काज फिर्ता गराएर प्राधिकरणको निमित्त कार्यकारी निर्देशको जिम्मेवारी दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।

यसअघि प्राधिकरणमा तहगत जिम्मेवारीका विषयमा असन्तुष्ट रहेका शाक्य आफुभन्दा कनिष्ठ लेखनाथ कोइरालालाई निमित्त कार्यकारीको जिम्मेवारी दिएपछि कार्यालयमा उपस्थित भएका थिएनन् । बरिष्ठताका आधारमा शाक्य लेखनाथ कोइरालामाथि माथिल्लो तहमा पर्छन् ।

कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नसमेत असहमत भएका प्रधानमन्त्री ओलीले बरिष्ठताका आधारमा शाक्यलाई निमित्त कार्यकारी निर्देशक बनाउनुपर्ने बताउँदै आएका थिए । कोइरालाले पनि शाक्यलाई आइतबार प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन शाक्यलाई निर्देशन दिएका थिए ।

यसअधिका कार्यकारी निर्देशक कुलमान घिसिङले नै उनलाई एनईएको जिम्मेवारी पठाएका थिए । एनईए इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउने भन्दै २०७३ सालमा स्थापना गरिएको प्राधिकरणको सहायक कम्पनी हो ।

प्रकाशित : २४ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्