सञ्चार कानूनमा मर्यादित पत्रकारिताको बुँदा थप्छु : सञ्चारमन्त्री



काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन समारोहमा सञ्चारमन्त्री पार्वत गुरुङले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह समेत गरेका छन् ।

‘पत्रकार बन्नको लागि निश्चित योग्यता चाहिन्छ,’ उनले भने–‘यो पनि जानकारी गराउन चाहान्छु कि सञ्चार कानूनमा म अब मर्यादित पत्रकारिताको बुँदा पनि थप्छु ।’

सञ्चार गृह र पत्रकार के उद्देश्यले मिडिया क्षेत्रमा प्रवेश गरेको र अहिले यो क्षेत्रमा के भइरहेको छ भन्ने विषयमा गम्भीर रुपमा समीक्षा गर्ने बेला आएको र पछिल्लो समयमा मानिसलाई एकदमै निराश बनाउने खालका नकारात्मक समाचार आउन थालेको र त्यसले मिडियाको विश्वसनीयतामा नै प्रश्न उठेको उनले बताए ।

‘जिम्मेवार पत्रकारिताको मापदण्ड र न्यूनतम व्यवसायिक मर्यादा आवश्यक छ र पत्रकारिताका नकारात्मक सूचीहरुलाई सकारात्मक सूचिमा परिवर्तन गर्न आवश्यक छ,’ उनले भने ।

प्रकाशित : कात्तिक २५, २०७७

प्रतिक्रिया दिनुहोस्