कोरोना संक्रमणबाट मोरङमा एकैदिन पाँच जनाको मृत्यु



विराटनगर : कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ । पछिल्लो १२ घण्टाभित्र चार महिला र एक पुरुषको मृत्यु भएको हो ।

चार जनाको कोभिड अस्पताल र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मात्रै तीन जनाको मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालकाअनुसार झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको बिहान ८ बजेतिर मृत्यु भएको हो । रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या देखिएपछि महिलालाई कात्तिक ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरेपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।

त्यस्तै सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहान ८ः१० बजेतिर मृत्यु भएको छ । दाहालका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।

यसैबीच मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहान ७ः३० बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको संक्रमण देखिएको १० दिनपछि उपचारकै क्रममा मृत्यु भएको दाहालले बताए । मृतकमा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै झापाको दमक–६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ज्यान गएको छ । अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवकाअनुसार श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान ल्याइएको थियो ।

पीसीआर परीक्षण गराउँदा दिउँसो रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा उनको कात्तिक १५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

श्वास फेर्न गाह्रो भएर स्वास्थ्यमा एक्कासि समस्या आएपनि उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको राति १० बजेतिर मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ ।

प्रकाशित : कात्तिक २७, २०७७

प्रतिक्रिया दिनुहोस्