काठमाडौं महानगरपालिकाले थाल्यो ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण



काठमाडौं : काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने ज्येष्ठ नागरिकलाई सबै रोगको निःशुल्क परीक्षण सुरु गरेको छ । काठमाडौं वडा नं १५ बाट सुरु गरिएको यस कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई २० प्रतिशतसम्म औषधिमा समेत छुट व्यवस्था गरिने महानगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा वडा नम्बर १५ मा रहेका १ हजार ६ सय ज्येष्ठ नागरिकलाई उक्त सेवा प्रदान गरिने काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । उनका अनुसार अनुसार अहिले परीक्षणको रूपमा यस वडामा सुर गरिएको हो । बजेट, जनशक्ति र अन्य व्यवस्थापन सहज भएपछि अन्य वडामा पनि यो कार्यक्रम सञ्चालन गरिनेछ ।

काठमाडौं महानगरपालिकामा ३२ वटा वडा छन् । महानगरका ज्येष्ठ नागरिकलाई ढल्कँदो उमेरमा हुने रोगले दुःख नदेओस् भनेर कार्यक्रम सञ्चालन गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए ।

यो कार्यक्रम हरेक दिन सामुदायिक स्वास्थ्य सेवा परिषद्मा सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्