एउटै परेवाको मूल्य १६ लाख युरो !



बेल्जियम : बेल्जियमको एउटा रेसिङ परेवा (परेवा उडाउने प्रतिस्पर्धामा सामेल गरिने परेवा) १६ लाख युरोमा बिक्री भएपछि नयाँ कीर्तिमान् बनेको छ।

न्यू किम नामको दुई वर्षको उक्त पोथी परेवा सुरुमा मात्र २०० युरोमा बोलकबोलका लागि राखिएको थियो। तर त्यसलाई चीनका एकजना खरिदकर्ताले आइतबार हालसम्मकै उच्च रकममा खरिद गरेका हुन्। त्यो परेवा पाल्ने कर्ट भान् ड वीवको परिवार उक्त समाचारले ‘आश्चर्यचकित’ भएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

यसअघि एउटा चार वर्षको भाले परेवाले रेसिङ परेवा बिक्रीमा कीर्तिमान् राखेको थियो। त्यो परेवा १२ लाख ५० हजार युरोमा बिक्री भएको थियो।

पहिलेको कीर्तिमान
अर्मान्डो नामको उक्त च्याम्पियन रेसर परेवालाई फर्मुला वानका विश्व च्याम्पियन लुइस ह्यामिल्टनूको नाम जोडेर ‘परेवाहरूको लुइस ह्यामिल्टन’ भन्ने गरिन्थ्यो। सन् २०१९ मा बिक्रीका लागि राख्दा उक्त परेवा पहिले नै निवृत्त भइसकेको थियो र कैयौँ चल्लाहरूको पिता बनिसकेको थियो।

न्यू किमले सन् २०१८ मा राष्ट्रिय मध्यम(दूरी रेससहित कैयौँ प्रतिस्पर्धाहरू जितेको थियो। तर त्यसपछि उ निवृत्त भएको थियो। अर्मान्डोकै जस्तो न्यू किमलाई पनि दुईजना चिनियाँ खरिदकर्ता बीचको बोलकबोल युद्धपश्चात् एकजनाले किनिएको हो। चीनमा पछिल्ला वर्षहरूमा परेवा रेसले लोकप्रियता कमाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्