प्रधानमन्त्रीले भने : अब आन्दोलन गर्ने दिन सकिए



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको नभइ विद्वानहरुको देश बनाउनुपर्ने बताएका छन् । विद्यालय भर्ना अभियान सन्दर्भमा बालुवाटारमा नेकपानिकट युवा–विद्यार्र्थीसँग बुधबार अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् ।

‘नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशका रुपमा पहिचान बनाउनु पर्छ’, ओलीले भने, ‘हाम्रा विद्वान पुर्खाको ‘जेनेटिक मेमोरी’को उपायोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं, तर अवस्था रहिरहन सक्दैन ।’

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए । ‘शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ’, प्रम ओलीले भने, ‘त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउछन् ।’

प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशील र समाज सुधारको काममा लाग्न अवरोध नरहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको  स्वरुप फेरिएको स्पष्ट पारे । ‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्’, प्रम ओलीले भने, ‘अब युवाहरुले समाज सुधारका लागि शिक्षा,स्वास्थ्य,श्रम,सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।’

गत वर्षदेखि सुरु विद्यार्थी भर्ना अभियानलाई घरघरमै सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवालाई आग्रह गरे । ‘विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ’, उनले भने, ‘यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ । पढ्ने उमेरका बालबालिका विद्यालय बाहिर हुनुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस्