छठमा प्रयोग हुने केरा जनकपुर बजारमा छ्यापछ्याप्ती, मूल्य आकाशियो



जनकपुरधाम– छठ पर्वको पूर्व सन्ध्यामा छठका लागि प्रयोग हुने केरा किन्नेहरुको बजारमा भीड लागेको छ ।

बुधबारबाट विधिवत रुपमा सुरु भएपनि शुक्रबार मनाइने छठ पर्वका लागि केरा किन्नेहरुको भीड लागेको हो । तर आपूर्तीभन्दा पनि माग कम भएकाले बजारमा केरा छ्यापछ्याप्ती देखिएको छ ।

धनुषा जिल्लामा छठ पर्वका लागि मात्रै चम्पा केरा, मिर्चमान केरा र गोपाल केरा आउने गर्दछ । तर यस पटक पोहोरभन्दा केरा आयात बढि भएपछि बजारमा जताततै केरा छ्यापछ्याप्ती देखिएको हो । दशैँ र दिपावलीमा मात्रै व्यवसायीहरुले २ करोड भन्दा बढी मूल्य बराबरको स्याउ, सुन्तला, केरा र अनार सहितका फलफुल भारत र नेपालका विभिन्न स्थानबाट जनकपुर भित्राएका छन् । त्यस्तै छठ पर्वका लागि ३ करोड भन्दा बढीको केरा भित्राइएको जनकपुर फलफुल तथा तरकारी व्यवसायी संघले जनाएको छ ।

तर सो फलफुल उपभोक्ताले भने महगोमा खरिद गर्न बाध्य छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ बस्ने हनुमान साहले प्रति केराको घौर १ हजार सम्ममा खरिद गर्नु परेको बताए । उनका अनुसार गत वर्ष प्रति केराको घौर करिब ३ सयमा पाइन्थ्यो ।

यसवर्ष छठ पर्वका लागि नेपाल तथा भारतबाट करीब ६० ट्रक अर्थात ३ करोड मूल्य बराबरको केरा आयात गरिएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका पुर्व महासचिव भूवनेश्वर पुर्वेले जानकारी दिए ।

उनले भने,‘पछिल्लो वर्षसम्म भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट आयात गरिन्थ्यो । तर यसवर्ष नेपालको नवलपरासीको त्रिवेणीबाट पनि केरा भारी मात्रामा आयात गरिएको छ ।’ छठ पर्वमा भारतबाट करीब २ करोड र नेपालको नवलपरासीबाट १ करोड बराबरको २१ ट्रक केरा आयात गरिएको उनले जानकारी दिए ।

भारतबाट मगाउँदा सस्तो दर भएपनि भन्सार शुल्क, ढुवानी खर्च र विषादी चेकजाँच समेतमा ढुवानी खर्च बढन जाँदा नेपालको केरा महंगो भएपनि दुवैको मूल्य बराबर हुन गएको उनले बताए । यसपटक छठमा केराको बजार मूल्य अत्यधिक बढेको उनले स्वीकार गरे ।

बजारमा जति केराको माग छ सो अनुसार आपूर्ति हुन नसकेका कारण बजारमा केराको मूल्य अत्याधिक बढेको पूर्वेले बताए । नेपाल सरकारले भन्सारमा कच्चा खाद्यान्न सामग्री समेत चेकजाँच गरी मात्रै भित्राउन दिने हुनाले नेपाल भारतको सिमामै २ देखि ३ दिनसम्म मालसामानहरु थन्किने गरेको र सर्लाहीको नवलपुरमा विषादी चेकजाँच गरी भित्रिने गरेकाले र सरकारले गरेको मूल्यांकन अनुसार सामग्रीहरु महगो हुने र सो अनुसार भन्सार भुक्तानी गर्नुपर्दा सामग्रीहरु महगोमा बेच्नुपर्ने बाध्यता रहेको पूर्वेले बताए ।

यस सम्बन्धमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले व्यापारीहरुको हितमा भन्दापनि सरकार उनीहरुमाथि पीडा थप्ने काम गरिरहेको बताए । उनले नेपाल सरकारको अर्थमन्त्रालय र भन्सार विभागको दोहोरो नीतिका कारण व्यापारीहरु झन मारमा पर्दै गएको गुनासो सुनाए ।

उनले सरकारले यस क्षेत्रको व्यापारीलाई तर्साएर उदण्डता देखाएको समेत आरोप लगाए । भारतमै पनि केरा महंगो भएको, ट्रकमार्फत् आयात गर्दा ४० प्रतिशत जति नाश हुने, यातायात भाडा लगायत सबै कुरा थप्नु परेका कारण पनि केरा महंगो परेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका पुर्व महासचिव भूवनेश्वर पुर्वेको भनाई छ ।

नेपाल सरकारले विषादी जाँचको निति बनाए पनि विषादी जाँचका लागि प्रदेश २ मा मात्रै एक ठाउँमा व्यवस्था रहेका कारण समस्या भएको पुर्वेको दुःखेसो छ । विषादी जाँचको व्यवस्था नेपाल भारत सीमामै गरिए फलफूल नष्ट हुने सम्भावना कम हुने उनको भनाई छ । नेपाल सरकारको यही नितिका कारण हामीलाई घाटा व्यहोर्नु परेको उनको धारणा छ ।

उनले भन्सार शुल्क ७ प्रतिशतबाट साढे १३ प्रतिशत बढेको र केराको फसल काटने सिजन कार्तिकमै समाप्त भएकोले अभाव भई मूल्य बढ्न गएको बताए ।

प्रतिक्रिया दिनुहोस्