छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै



काठमाडौं : मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्वको आज बिहीबार दोस्रो दिन व्रतालुहरुले खरना मनाउँदै छन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व बुधबारदेखि विधिवत रुपमा शुरु भएको हो ।

आज दनभरि व्रत बसेर बेलुका नैवेद्य चढाएर सक्खर हालेर बनाइएको खीर, मुला, केरा खाने गरिन्छ, जसलाई ‘खरना’ भनिन्छ । चार दिनसम्म मनाइने यो पर्वमा सूर्यको पूजा आराधना गरिन्छ । व्रतालुले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गर्छन् ।

आजको दिनभर व्रत बसेर व्रतालुहरू साँझमा एक छाक मात्र भोजन गर्दछन् । आज एक छाक मात्र भोजन गर्नुको कारण, छठको दिन अर्थात् भोलिपल्ट दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास पनि हो । चार दिनसम्म मनाइने छठ पर्वको छठको पहिलो दिन–कात्तिक शुक्ल चतुर्थीलाई ‘नहाई खाय’ भनिन्छ ।

छठको दोस्रो दिन–कात्तिक शुक्ल पञ्चमीलाई खर्ना भनिन्छ । छठको तेस्रो दिन–कात्तिक शुक्ल षष्ठीलाई विशेष दिन “छठ“ भनिन्छ । छठको चौथो दिन–कात्तिक शुक्ल सप्तमीलाई “विहनीया अर्घ्य“ भनिन्छ ।

चार दिनसम्म कठोर व्रत बसी सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुईटै देवी देउतालाई प्रसन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो

।सृष्टिको आदि कालदेखि नै यस जगतका प्रत्यक्ष देवता सूर्यनारायण भगवानको उपासना, आराधना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा षष्ठी व्रतको प्रसङ्ग उल्लेख गरिएको छ ।

द्वापर युगमा चौध वर्षको वनवास र एक वर्षको अज्ञात वास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवहरूले पनि यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौसल्याले पनि यो व्रत गरेको बताइन्छ । यो पर्व वर्षको दुई पटक मनाउने गरिन्छ ।

प्रकाशित : मंसिर ४, २०७७

प्रतिक्रिया दिनुहोस्