जनकपुरधाममा छठको रौनक



जनकपुरधाम : आस्थाको महापर्व छठको तेस्रो तथा मुख्य दिन आज जनकपुरधामसहित देशभर निष्ठापुर्वक मनाइँदै छ ।

पारिवारिक सुखको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ । छठ पर्व मनाउनका लागि जनकपुरधामस्थित पोखरीहरुको घाटमा खरनाको राति देखि नै अर्घ लिएर श्रद्धालुहरु पुगिसकेका छन् ।

कोरोना महामारीका बिच अहिले जनकपुरधामको गंगासागर, अंगराज सर, धनुष सागर, दशरथ तलाउ, गोरधोई पोखरी, नोचा पोखरी, जानकी सरोवर, गोसाईकुण्ड लगायत दर्जनौँ पोखरीहरुमा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । पोखरी नै पोखरीको शहरको रूपमा चिनिएको जनकपुरधामका पोखरीहरुमा छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लवहरुले टेन्ट र पण्डाल लगाएका छन् ।

जनकपुरधामको छठ पर्व नेपालमै प्रसिद्ध रहेकोले यहाँ भीड बढी हुने गर्दछ । जनकपुरधामको सुरक्षा व्यवस्था अहिले अत्यन्त कडा बनाइएको छ । छठ पर्वका लागि मात्रै जनकपुरधाम नगरभित्र विभिन्न पोखरीका घाटहरुमा चारवटै कुनामा प्रहरीको टोली बनाएर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । उनले जनकपुरमा मात्रै डेढ सयको संख्यामा प्रहरी परिचालन गरिएको बताए ।

आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ । कोरोना महामारीका कारण घाटहरुमा सरसजावटमा कमी आएपनी यसको रौनकतामा भने कुनै कमी आएको छैन ।

अन्य वर्ष जनकपुरधामको पोखरीहरुमा तेस्रो मुलुकबाट समेत पर्यटकहरु आउने गरेतापनि यस वर्ष कोरोना महामारीको कारण उनीहरु आउन सकेका छैनन् ।

प्रकाशित : ५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्