‘उपत्यकामा बन्दको प्रभाव छैन’



काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वान गरे पनि काठमाडाै‌ उपत्यकामा भने खासै प्रभाव परेको छैन। काठमाडौं उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीले काठमाडाै‌, ललितपुर र भक्तपुरको सवारी आवागमन सहज रहेको जानकारी दिए।

‘उपत्यकामा बन्दको प्रभाव छैन, यद्यपि विभिन्न नाकाबाट बाहिर जाने र भित्रिने सवारीको संख्यामा भने कमी छ’, ज्ञवालीले भने। उपत्यकामा अहिलेसम्म कुनै घटनासमेत नभएको र सुरक्षा व्यवस्था कडा पारी सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। शंकास्पद क्षेत्रमा गस्ती बढाइएको जनाइएको छ। काठमाडौंमा भने साविकझैँ सवारी सञ्चालनमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

विभिन्न जिल्लामा भने बन्दको प्रभाव देखिएको र ठाउँठाउँमा नक्कली बम, शंकास्पद वस्तु भेटिएको तथा गाडी तोडफोड र आगजनी भएको जानकारी आए पनि विस्तृत विवरण आइनसकेको नेपाल प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। बन्दले विभिन्न राजमार्ग भने सुनसान देखिएका छन्। जिल्लामा सुरक्षा व्यवस्थासमेत कडा पारिएको उनले बताए। 

प्रतिक्रिया दिनुहोस्