मुख्यतः दुई कुराको आधारमा पार्टी चल्छ : अध्यक्ष प्रचण्ड



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी चल्ने दुई आधार रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘पार्टी मुख्यतः दुई कुराको आधारमा चल्छ । एउटा विचार-राजनीति र दोस्रो विधि (पद्धति ।’ उनले यस विषयमा केही खुलाएका छैनन् ।

तर नेकपाभित्रको संकटसँग जोडेर अभिव्यक्ति दिएको हुन सक्ने अनुमान गर्न सकिन्छ । पछिल्लो केही समय नेकपाभित्र विवाद बढेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै आलोचनासमेत हुँदै आएको छ ।

अध्यक्ष प्रचण्डले ओलीमाथि आरोप लगाउँदै सचिवालयमा प्रतिवेदन पेश गरेपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको हो । गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको प्रतिवेदनमा जवाफसहित तथ्यपरक प्रतिवेदन ल्याउने बताएपछि सचिवालय बैठक आउँदो १३ गतेसम्मका लागिस्थगित छ ।

ओलीले बुधबारको बैठकको सुरूवातमा सम्बोधन गर्दै प्रचण्डको प्रतिवेदनले झुठा र निकृष्ट लाञ्छना लगाइएको भन्दै सहेर नबस्ने बताएका थिए ।

प्रकाशित :६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्