विप्लवका सैन्य लडाकु हतियारसहित पक्राउ



विराटनगर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना सैन्य लडाकु हतियारसहित पक्राउ परेका छन् ।

ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ घर भएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई प्रहरीले मोरङको उर्लाबारीबाट हतियारसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ ७ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

उनका अनुसार पक्राउ गरेर हिरासतमा लिइएका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको छ ।

पक्राउ परेका शेर्पाको साथबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन र तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै उनको साथबाट पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दस्तावेजहरु समेत बरामद भएको एसपी खड्काले जनाए ।

शेर्पाविरुद्ध थप अनुसन्धान र कारबाही अघि बढाउन प्रहरीले आइतबार हातहतियार खरखजना मुद्दामा म्याद थप गर्ने तयारी गरेको खड्काले जानकारी दिए ।

प्रकाशित : मंसिर ७, २०७७

प्रतिक्रिया दिनुहोस्