मुलुकका तमाम समस्यामा सरकार बेखबर छ : काँग्रेस नेता सिंह



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीमा सरकार रमिते बनेको आरोप लगाएको छ ।

आइतबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको छलफल कार्यक्रममा नेता सिंहले यस्तो विषम परिस्थितिमा सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । साथै उनले आम नागरिकको जनजीविकाको सवालमा गैरजिम्मेवार बनेको समेत बताएका छन् ।

प्रर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले भने–‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ । मुलुकका तमाम समस्यामा सरकार बेखबर छ । यो लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो ।’

यतिबेला आफूहरुले प्रमुख प्रतिपक्षीको रुपमा उठाउनुपर्ने विषय उठाउँदै आए पनि सरकारले नसुनेको उनको दाबी छ ।

‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ, तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको,’उनले भने–‘कोरोना महामारीको बेलामा सरकारले के ग¥यो ? अब यो भनिरहनु परेन । अब गर्छ भन्ने आस गर्ने ठाउँ पनि रहेन । यसर्थ आफैं आफ्नो सुरक्षामा लाग्नुपर्छ ।’

प्रकाशित : मंसिर ७, २०७७

प्रतिक्रिया दिनुहोस्