विप्लवको बन्द छल्दै प्रचण्ड सुटुक्क सुकुटे



सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्त वातावरण खोज्दै बिहीबार सुटुक्क सिन्धुपाल्चोकको सुकुटे आइपुगेका छन्।

पूर्वसहकर्मी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दकाबीच श्रीमति सीतासहित प्रचण्ड सुकुटे पुगेका हुन्। दिउँसो ३ बजेतिर उनी अरनिको राजमार्ग हुँदै राजधानीबाट ७६ किमी टाढा सुनकोसी नदी बगरस्थित रिसोर्ट आइपुगेका थिए।

अध्यक्ष दाहाल आरामका लागि सुकुटे आएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। अध्यक्ष दाहालले सुकुटेमा रहेको रिसोर्टमै रात बिताउने छन्। उनको साथमा सिन्धुपाल्चोक गृहजिल्ला भएका पार्टी स्थायी समिति सदस्य अग्नि सापकोटा पनि छन्।

प्रचण्डले विगत सात वर्षदेखि निरन्तर वर्षको एक–दुई रात यही रिसोर्टमा बिताउँदै आएका छन्। २०६९ असोजदेखि दाहालको यो रिसोर्टसँग साइनो गाँसिएको हो। २०६९ चैत १८ र १९ गते उनले यही रिसोर्टमा तत्कालिन नेकपा (माओवादी) को स्थायी समिति बैठक राखेका थिए। रिसोर्टमा रहँदा उनी अनौपचारिक र शरीरलाई सहज हुने पोशाकमा देखिने गरेका छन्। केही महिना अघि मात्र दाहाल यो रिसोर्टमा आएका थिए।

‘राजनीतिक कामले थाकेको बेला मलाई शान्त वातावरणमा थकान मेट्न मन लाग्छ,’ यसअघिको रिसोर्ट बसाईँका क्रममा उनले सञ्चारकर्मीहरुसँग खुलेरै भनेका थिए, ‘यस्तो बेला म काभ्रे र सिन्धुपाल्चोक आउँछु। सिन्धुपाल्चोक अझ बढी मन पर्छ।’ 

प्रतिक्रिया दिनुहोस्