यस वर्षको हरिबोधनी एकादशी २ दिन



काठमाडौं : यस वर्षको हरिबोधनी एकादशी २ दिन परेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतम मंसिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताए । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ ।

एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधारमानी कर्म गर्ने अर्थात् स्मार्तले एकादशी मनाउँ छन् । यसै कारण मङ्सिर १० गते बुधबारलाई स्मार्तानां एकादशी व्रत भनी समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको उनले जानकारी दिए ।

वेदमा आधारित भई कर्म गर्नेले अरुणोदयकालमा एकादशी तिथि परेको दिन तिथि मनाउने गर्छन् । सूर्योदय हुनुअघिको ४ घडीलाई अरुणोदय भनिन्छ । यो एकादशी यस वर्ष मंसिर ११ गते बिहीबार परेको समितिले जनाएको छ ।

जसलाई वैष्णवानां एकादशी अर्थात् वैष्णवको एकादशी भन्ने गरिएको छ । यहाँ विशेष टीका लगाउनेलाई मात्र वैष्णव भनी बुझ्न नहुने अध्यक्ष गौतमले बताए । समितिले स्वीकृति दिएकामा पात्रोमा पनि यही उल्लेख गरिएको छ ।

हरिबोधनी एकादशीको महत्व
कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुहुने भगवान् विष्णु यसै दिन जागा हुनुहुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् ।

हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ । वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ ।

यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ । यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ ।

भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ ।

यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण ४ नारायणमध्ये केहीमा मात्र मेला लाग्ने जनाइएको छ । भक्तजनलाई घर-घरमै बसी नारायणको पूजा आराधना गर्न धर्मशास्त्रविद् र सम्बन्धित मन्दिर व्यवस्थापन समितिले आह्वान गरेको छ ।

त्यस्तै, दक्षिणकाली नगरपालिका–५ मा पर्ने ४ नारायणमध्येको एक शेषनारायण मन्दिरमा भने हरिबोधनी एकादशीका अवसरमा बुधबार र बिहीबार दुवै दिन मेला लाग्ने भएको छ । मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका वडा अध्यक्ष श्यामबहादुर खत्री विद्यालयसमेत खुलिसकेको अवस्थामा वर्षमा एकदिन धेरै भक्तजन आउने मन्दिर बन्द नगरिएको बताए ।

मन्दिर खुले पनि भौतिक दूरी कायम गरेर मात्र दर्शन गराइने उनले बताए । नगर क्षेत्रका स्थानीयवासीले ११ गते एकादशी मनाउने भएकाले त्यस दिन नगरपालिकाले नगर क्षेत्रमा स्थानीय बिदासमेत दिएको छ । हरिबोधनी एकादशीका अवसरमा ४ नारायण जान नसक्ने उपत्यकाको उत्तरी भेगमा रहेको बूढानीलकण्ठमा दर्शन गर्छन् ।

त्यहाँ दर्शन गरेमा ४ नारायणमै दर्शन गरेको फल मिल्ने धार्मिक विश्वास रहेको छ । बूढानीलकण्ठ मन्दिर पनि यस वर्ष कोरोनाका कारण भक्तजनका लागि खुला नगरिने जनाइएको छ । रासस

प्रकाशित : ९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्