रसुवागढी र सान्जेनको सेयर खुला, कसले कति आवेदन दिए ? 



काठमाडौं – रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर आवेदन खुला गरिएको छ। दुवै कम्पनीको शुक्रबारबाट साधारण सेयर बिक्री सुरु भएको हो। जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सेयर सरकारले निष्काशन गरेको हो। 

शुक्रबार सभामुख कृष्णबहादुर महराले सेयर आवेदन दिएर यसको सुरुवात गरेका हुन्। महराले १ लाख रुपैयाँ बराबरको १ हजार कित्ता रसुवागढीमा र ५० हजारको ५ सय कित्ता सान्जेनका लागि आवेदन दिएका हुन्। 

महरापत्नी सीताले १ लाख रुपैयाँ (१००० कित्ता रसुवागढीमा) र ५० हजारको (५ सय कित्ता सान्जेनमा), ऊर्जामन्त्री वर्षमान पुनले पनि १ लाख रुपैयाँ (१००० कित्ता रसुवागढीमा) र ५० हजारको (५ सय कित्ता सान्जेनमा) र पूर्वसभामुख ओनसरी घर्तीले पनि १ लाख रुपैयाँको (१००० कित्ता रसुवागढीमा) र ५० हजारको (५ सय कित्ता सान्जेनमा) शेयर आवेदन दिइन्।

रसुवागढीले निर्माणधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सय रुपैयाँ अंकित १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्कासन गरेको छ। निष्कासन भएको मध्ये ४ लाख १० हजार ५ सय २६ कित्ता कम्पनीका कर्मचारी र ५ लाख १३ हजार १ सय ५७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता सेयर सर्वसाधरणको लागि छुट्याएको छ।

सान्जेनले ४८ लाख ८२ हजार २ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ।

प्रतिक्रिया दिनुहोस्