काठमाडौँ उपत्यकामा हुरीसहित असिना पानी



काठमाडौँ : काठमाडौँ उपत्यकामा हुरीसँगै असिना पानी परेको छ । शुक्रबार अपरान्हदेखि तीव्र गतिको हावा हुरीसँगै असिना पानी परेको हो । 

१५ दिनयता देशका विभिन्न भागमा हावा हुरी र असिना पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशका विभिन्न भागमा चट्याङसहित बर्षात् हुने जनाएको थियो । 

शुक्रबार दिनभर देशका मध्य तथा पश्चिमी भागका कयौँ स्थानमा चट्याङ परेको विभागले जनाएको छ । बिहीबार दिनभर देशका सुदूरपश्चिमी क्षेत्रमा चट्याङ र आँधी हुरी चलेको थियो । 

गत चैत १७ गते बाराको फेटा गाउँपालिकामा चलेको भुमरीमा परेर ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो । त्यसयता देशका विभिन्न भागमा आँधीहुरी चल्ने क्रम रोकिएको छैन । 

विमानस्थल बन्द 

हुरीसहित असिना पानी परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण तथा उडान रोकिएको छ । हुरीसहित पानी परेर भिजिबिलिटी कम हुँदा विभिन्न देशबाट आएका जहाजलाई आकाशमै होल्ड गरिएको छ । 

नेपाल वायुसेवा निगम र कोरियन एयरसहितका जहाज काठमाडौँ नजिकैको आकाशमै होल्ड हुन पुगेका हुन् । 

प्रतिक्रिया दिनुहोस्