सर्वसाधरणको आक्रोश : विदेशीलाई नागरिकता बाँड्नेलाई सेनाले जेल हालोस्



काठमाडौँ : जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता दिन थालिएपछि फरक फरक प्रतिक्रिया आएका छन् । सरकारको निर्णयलाई सर्वोच्च अदालतले कार्यान्वयनको बाटो खोलिदिएपछि सीमाक्षेत्रका प्रशासनमा नागरिकता लिनेको भीड बढेको छ । 

शुक्रबार प्रकाशित पत्रिकाहरुले मोरङसहितका जिल्लामा नागरिकता लिन भारतीय मोटरसाइकल लिएर आउनेको भिड बढेको समाचार छापेका थिए । यी समाचार सामाजिक सञ्जालमा भाइरल भएसँगै आक्रोशपूर्ण टिप्पणी आउन थालेका हुन् । 

भारतीय मोटरसाइकलमा नागरिकता बनाउन आएकोबारेमा दुईखालका टिप्पणी भएका छन् । एकथरीले भारतमा मोटरसाइकल सस्तो पर्ने भएकाले सिमानाका नेपाली तिनैमा चढेर आएको टिप्पणी गरेका छन् । अर्काथरी भारतीय नम्बरका मोटरसाइकलमा चढेर आउनेहरु भारतीय नागरिक नै भएको बताएका छन् । 

सामाजिक सञ्जालमा इलाका प्रशासन कार्यालय रंगेली र जिल्ला प्रशासन मोरङ परिसरमा नागरिकता बनाउन आएकाले प्रयोग गरेका भारतीय मोटरसाइका तस्बिर भाइरल भएपछि आक्रोश देखिएको हो । 

भारतीयलाई नागरिकता बाँडेर देशलाई फिजीकरण गर्न खोजिएको भन्दै वरिष्ठ पत्रकार कुसुम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रीहरुलाई सिक्किमा लेणुडप दोर्जेको संज्ञा दिएका छन् । 

उनले भारतीयलाई नागरिकता बाँडेर नेपाललाई फिजी बनाउने षडयन्त्रमा तत्कालीन राजा वीरेन्द्र शाह बाधक भएको इतिहास पनि कोट्याएका छन् । 'राजाले नागरिकता विधेयकमा लाल मोहर नलगाई फिर्ता पठाएपछि उनको वंश सखाप पारिएको थियो', उनले भनेका छन्, 'प्रचण्ड, गिरिजालाई मोहरा बनाई गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता नामक आत्मघाती सिस्टम लादिएको हो ।'

उनले अहिले प्रचण्ड र ओलीको 'राष्ट्रघाती गठबन्धन' भनेका छन् । 'यतिबेला भारतीयहरुलाई धमाधाम नागरिकता वितरण गर्ने काम भइरहेको देख्दा इतिहासमै पहिलो पटक मैले नेपाल साँच्चिकै संकटमा परेको महसुस गरिरहेको छु', उनले भनेका छन् । 

यो कदमलाई राष्ट्रघाती भन्दै उनले अब बोल्ने बेला भएको जिकिर गरेका छन् । 'के यस्तो राष्ट्रघाती हर्कतविरुद्ध जर्बजस्त हस्तक्षेपकारी कदम कतैबाट चाल्ने सम्भावना छैन ? के हाम्रो देशको सेनाले यतिबेला देश बचाउन राजनीतिक नेतृत्वलाई ‘खबरदार’ भन्नुपर्ने हैन ?', उनले प्रश्न गरेका छन्, 'म नागरिक भएकाले यस्तो अवस्थामा जर्साबहरुको दायित्व के हुनसक्छ ? एक देशभक्त नागरिकको भावनाले भन्छ, 'भारतीयलाई नागरिकता लिन बाटो सहज गर्ने सबैलाई सेनाले तत्काल गिरफ्तार गरी जेल हाल्नुपर्छ ।'

त्यसैगरी पूर्वविद्यार्थी नेता किरण देउजाले जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्च अदालतको आदेशसँगै नागरिकता लिनेको भिड लागेको दृश्टान्त लेखेका छ् । उनले सीमावर्ती जिल्लाहरुमा नेपाली नागरिकता लिन भारतीयहरुको भिड बढेको जिकिर गरेका छन् । 

आजका पत्रिकाको समाचार उधृत गर्दै अमृत वली धनुषले इलाका प्रशासन कार्यालय रंगेलीबाट एकै दिन एक सय ५९, उर्लाबारीबाट ७९ र जिल्ला प्रशासन कार्यालय मोरङबाट ६ सय ६६ लाई नागरिकता वितरण गरिसकिएको दाबी गरेका छन् । यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नागरिकता वितरणको परिपत्र रोक्न अन्तरिम आदेश दिएको उनले स्मरण गरेका छन् । 

चैत २५ गतेको उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको थियो । 

हेमलाल भुसालले बंशजको आधारमा नागरिकता लिनेहरु बिहार र उत्तरप्रदेशबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल र गाडी चढेर जिल्ला प्रशासन कार्यालयमा लामबद्ध भएको दाबी गरेका छन् । तीन प्रमुख दलको भागबन्डाले मुल नेपाली अल्पमतमा पर्ने अवस्था आएको उनले जिकिर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्