सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङका सञ्चारविज्ञमा मानन्धर नियुक्त



काठमाडौं :सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका गुरुङले सञ्चारविज्ञका रुपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको पत्रकार मानन्धरलाई आज नियुक्त पत्र प्रदान गरेका हुन् ।

मानन्धर यसअघि ‘कान्तिपुर’ दैनिकमा उपसम्पादक रहेका थिए । ‘गोरखापत्र’ र ‘रेडियो नेपाल’ का पनि जिल्ला समाचारदाता भई काम गरेका मानन्धरले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् ।

सामाजिक क्षेत्रमा क्रियाशील मानन्धरले पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा सेफर्ड कलेज (२०१५)मा सबैभन्दा बढी लब्धाङ्क प्राप्त गरेका छन् । कान्तिपुर पब्लिकेसन्शले उनलाई सन् २०१५ मा उत्कृष्ट कार्यसम्पादन सम्मान प्रदान गरेको थियो ।

दोलखा मिडिया प्रालिका अध्यक्षसमेत रहेका मानन्धरले अन्तरराष्ट्रिय श्रम संगठन र नेपाल पत्रकार महासंघबाट राष्ट्रिय बालश्रम पत्रकारिता सम्मान (२००६) तथा शिक्षा विभाग र पत्रकार महासंघबाट राष्ट्रिय शिक्षा सम्मान २००७ प्राप्त गरेका छन् ।

प्रकाशित :११ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्