कानून बनाउन दलहरुमा विज्ञताको कमी- सभामुख सापकोट



काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् ।

जनमुखी विधेयकहरु निर्माण गर्नका लागि राजनीतिक दल तथा सांसदहरुलाई प्रशिक्षण नहुँदा विज्ञको भर पर्नुपरेको बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले राजनीतिक दलहरु भित्र पनि लोकतन्त्रको राम्रो अभ्यास नभएको अनुभव भएको बताए ।

त्यसैले पार्टीहरुले सांसदहरुलाई राम्रो प्रशिक्षणमा जोड दिनुपर्ने उनको भनाई छ ।

उनले भने– ‘दलहरुमा प्रशिक्षणको कमी भएको छ । विज्ञताको कमी छ । हामी सबै माननिय सांसदहरुमा पनि विज्ञता नभइकन, ज्ञानको तागत भनेको आफ्नो विज्ञताको तागत हो त्यसो नहुँदा खेरी त अरुको भर पर्नुप¥यो । बाहिरबाट ल्याएका विज्ञहरुको भर पर्नुप¥यो । जनप्रतिनिधि जो हजारौं लाखौं जनताको प्रतिनिधित्व गर्छन उनीहरुले मात्रै जनमुखि विधेयकहरु बनाउन सक्छन । त्यसकारण यसमा हामीले बढी ध्यान दिनुपर्छ । मैले के भन्न खोजेको हो भने पार्टीहरु भित्र पनि लोकतन्त्रको अभ्यास राम्रोसित हुन सकेको आभास हामीलाई भएको छैन । सामान्य प्रशिक्षणहरु भएको छैन र हामीले संघीय संसदबाट पनि सांसदहरुलाई प्रशिक्षणको वातावरण बनाउन सकेका छैनौं । ’

अहिलेको परिस्थितिमा संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमाथि रहेको समेत सभामुख सापकोटाले बताए ।

पछिल्लो समय जनतामा पनि संघीयता आवश्यक रहेको छ भन्ने परेको उल्लेख गर्दै सभामुख सापकोटाले संघीयतालाई जीवन्त बनाउने दायित्व पनि सांसदहरुकै भएको उनको भनाई छ । यस्तै वैज्ञानिक वस्तुवादी र जनताका इक्षा, आकांक्षा र भावना समेटेर कानून निर्माण गर्न सकेमा मात्रै सफलता सुनिश्चित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्