सरुवा रोग अस्पताल निर्माणका लागि मुख्यमन्त्रीद्वारा जग्गाको स्थलगत निरीक्षण



जनकपुरधाम : प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं ट्रमा सेन्टर निर्माणका लागि जग्गाको स्थलगत निरीक्षण गरेका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको यो दुई योजनामा संघ सरकारले समेत सहयोग गर्ने भएपछि मुख्यमन्त्री राउत सहितको टोलीले दुबै अस्पतालको लागी आज (शुक्रबार)जग्गाको निरीक्षण गरेका हुन् ।

बाराको कलैया उपमहानगरपालिका-१६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं बाराकै पथलैयास्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा ट्रमा सेन्टर निर्माण गर्ने निति अनुरुप जग्गाको निरीक्षण कार्य सम्पन्न भएको छ । सरुवा रोग अस्पतालका लागी कलैया उपमहानगरपालिकाले सात विग्घा जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।

जग्गा निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार सरुवा रोग तथा ट्रमा सेन्टरको निर्माणलाई आफ्नो नीति तथा कार्यक्रममै राखेर बजेट समेत विनियोजन गरिसकेको अवस्थामा संघ सरकारले समेत सहयोग गर्ने भएपछि दुबै अस्पतालको निर्माण कार्य चाडै सुरु हुने बताए । उनले यी दुबै अस्पताल प्रदेशको गौरवको योजनाको रुपमा रहने र यसले यस क्षेत्रका बासिन्दा मात्र नभई सम्पूर्ण प्रदेशवासी लाभान्वित हुने बताए ।

निरक्षण टोलीमा मुख्यमन्त्री राउत सहित संघीय सांसद रामसहाय प्रसाद यादव, रामबाबु यादव, प्रदेश सांसद पारस साह, बच्चा यादव, ज्वाला साह, सुन्दर विश्वकर्मा, समाजिक विकास मन्त्रालयका सचिव लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सरुवा रोग अस्पतालको शिलान्यास मंसिर १५ गते सोमबार भर्चुअल माध्यमबाट हुने बताईएको छ ।

प्रकाशित :१२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्