जनकपुरधाम टि-२० टुर्नामेन्ट : धमौरा क्रिकेट क्लब र सिरहा क्रिकेट एकेडमी विजयी



जनकपुरधाम : जनकपुरधामको रंगभूमी मैदानमा हिजो (बिहीबार) देखि सुरु भएको जनकपुरधाम टि-२० टुर्नामेन्ट अन्तर्गतको दोश्रो दिनको पहिलो धमौरा क्रिकेट क्लब र दोश्रो खेलमा सिरहा क्रिकेट एकेडमी विजयी भएको छ ।

आज भएको पहिलो खेलमा धमौरा क्रिकेट क्लवले राजदेवी युवा कमिटीलाई ११ रनले पराजित गरेको हो । धमौरा क्रिकेट क्लवले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको राजदेवी युवा कमिटी १ सय २० रनमै अल आउट भएका थिए ।

राजदेवीका लागि गणेश यादव २४, किसन साह १४ र प्रशान्त अरविन्दको १२ रनका अतिरिक्त अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेका थिएनन् । धमौराको बलिङ्गमा प्रविण यादवले घातक बलिङ्ग गर्दै ३ विकेट र इलियास अन्सारीले २ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ्ग गरेको धमौरा क्रिकेट क्लवले राजकुमार सहनीको ७३ रनको सहयोगमा निर्धारित २० ओभरमा १ सय ३१ रनको स्कोर खडा गरेको थियो । धमौराका लागि सुधीर मण्डलले १४ र विनोद सहनीले १२ रन बनाएका थिए ।

राजदेवी टिमको बलिङ्गमा त्रिदेव चौधरी, दीपक यादव, अमित मण्डल र प्रशान्त अरविन्दले समान १-१ विकेट लिएका थिए ।

आजकै दोश्रो खेलमा सिरहा क्रिकेट एकेडमीले युनिक २.० क्रिकेट टिमलाई ३३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो ब्याटिङ्ग थालेको सिरहाले नन्दन यादवको ४० र राकेश कामतिको २१ रनको योगदानले निर्धारत २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २३ रनको स्कोर खडा गरेको थियो ।

जवाफमा ब्याटिङ्ग गर्न आएका युनिक २.० मात्र ९० रन बनाउन सफल रहयो । सिरहाको बलिङ्गमा रुपेश सिंह ३ र दीलिप यादवले २ विकेट चटकाएका थिए ।

जनकपुरधामको रंगभूमी मैदानमा बिहीबारदेखि हरिज स्पोर्टस जोनको आयोजना, जिल्ला क्रिकेट संघको सहयोग र इन्जिनीयर प्रेमचन्द्र रायको संयोजनमा सुरु भएको जनकपुर टि-२० टुर्नामेन्ट मंसिर १९ गतेसम्म आयोजना हुने छ ।

प्रतियोगितामा भारतको १ र नेपालको १५ गरि कुल १६ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित :१२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्