दिल्लीबाट काठमाडाै‌ जाँदै गरेकाे बसमा बम बनाउने सामान फेला !



धनगढी : भारतको नयाँ दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट ठूलो मात्रामा बम बनाउन प्रयाेग हुने विष्फोटक पदार्थ प्रहरीले फेला पारेकाे छ। सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२:४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो।

बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्टलगायत सामाग्रीहरु बरामद भएको बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) नेत्र केसीले जानकारी दिए ।

राति शंका लागेर राति बस जाँच गरिएको थियो । बसबाट केही सामान सशस्त्र प्रहरीले बरामद गरेर धनगढीमा राखेकाे छ। त्यतिन्जेलसम्म ती सामान विष्फोटक पदार्थ हुन् भनी सशस्त्र प्रहरीलाई थाहा नभएकाले बसलाई त्यहाँबाट जान दिइएकाे हुन सक्ने प्रहरीकाे दाबी छ।

तर, शनिबार बिहानपख पोका खोलेर हेर्दा डिटोनेटर लगायतका बिष्फोटक पदार्थ फेला परेपछि उक्त बसलाई रोक्न सशस्त्र प्रहरी बल बेस क्याम्पले अन्य जिल्लाका प्रहरी युनिटलाई सूचना प्रवाह गरेको थियो । त्यसपछि मात्र नवलपरासी प्रहरीले बसलाई रोकेर राखेको छ ।

सशस्त्र प्रहरी बलका डिएसपी केसीले बसबाट बरामद गरिएका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले पनि दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट बम बनाउन प्रयोग हुने सामाग्रीहरु सशस्त्र प्रहरी बलले बरामद गरेको जानकारी आफूले पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्