ओलीको जवाफी प्रस्ताव पेशसँगै सचिवाल बैठक स्थगित



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक १६ गतेसम्मको लागि स्थगित भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेसँगै सचिवालय बैठक मंसिर १६ गतेसम्मको लागि स्थगित भएको हो ।

प्रधानमन्त्री ओलीले पेश गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।

उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गरेका छन् ।

दुवै प्रस्तावको अध्ययन गरेर अर्को बैठक बस्नेगरी सचिवालय बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए ।

पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले बैठकमा दुई अध्यक्षसहित नेताहरुले आफ्नो धारणा राखेको बताए । पार्टीलाई विभाजन तर्फ जान नहुनेमा नेताहरुले जोड दिएको श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन तयार पार्न समय मागेपछि दश दिनपछि आज सचिवालय बैठक बसेको छ । नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्