सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, ३६ जनाको मृत्यु



कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ भने अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा ११ हजार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक लाख १७ हजार २ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ११ हजार २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सूचना अधिकारी नरेन्द्र सिंहकार्कीका अनुसार ९ हजार १ सय ६६ जनाले कोरोना जितेका छन् । हालसम्म सबैभन्दा बढी कैलालीमा मात्रै ४ हजार ६ सय जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसपछि डोटीमा १ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा सबैभन्दा कम दार्चुलामा ३ सय १८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ । उमेर समूहका आधारमा हेर्दा सुदूरपश्चिममा १९ वर्षमुनिका कोरोना संक्रमितको संख्या १ हजार ९ सय ३६ रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

प्रदेशमा भारतबाट आएकाहरूमा संक्रमण बढी देखिएकाले बालबालिकामा समेत संक्रमण दर उच्च रहेको सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले जानकारी दिए । प्रदेशमा परीक्षणको दायरा घटाइएपछि संक्रमण दर ओरालो लागेको छ ।

कार्तिक २३ गतेसम्म औसतमा दैनिक ७ सयको कोरोना परीक्षण हुने प्रदेशमा पछिल्ला दिनहरूमा भने दैनिक साढे दुई सय हाराहारीमा कोरोना परीक्षण हुने गरेको छ । केन्द्रको तथ्याङ्क अनुसार सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या साढे ११ हजार रहेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश बाहिर संक्रमण पुष्टि हुने र उपचाररत संक्रमितको तथ्याङ्क आफू कहाँ नराखिएको हुँदा संख्या फरक परेको जनाउँदै आएको छ । मन्त्रालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ३६ जनाको मृत्यु भएको छ ।

प्रकाशित : १३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्