‘दोषीमाथि कारबाही हुने र न्याय पाउने आशा छैन’



दाङ : दाङको घोराहीमा ११ जना किसान मारिएको १९ वर्ष पूरा भएको छ । तत्कालिन माओवादीले आक्रमण गरेको पाँच दिनपछि २०५८ साल मंसिर १३ गते घोराहीको बर्गद्दी गाउँमा सुरक्षाकर्मीद्वारा ११ जना निर्दोष किसानको हत्या गरिएको थियो । यस घटनाको १९ वर्ष पूरा भएको छ । यो १९ वर्षमा पीडित परिवारलाई दोषीमाथि कारबाही हुने र न्याय पाउने आशा मरिसकेको छ ।

घोराही उपमहानगरपालिका–१७ की लाकी चौधरीले १९ वर्ष अगाडिको घटना अझै बिर्सिएकी छैनन् । उनले त्यस दिनको घटनालाई यसरी सम्झिन्छिन् –‘त्यस दिन म बजार गएको थिए । त्यही बेला गाउँमा आतंकारी, माओवादी आएका छन् भन्दै सरकारी सेनाले मेरो श्रीमान मारेर लगेको हो ।’

२०५८ साल मंसिर १३ गते उनका श्रीमानसहित ११ जना किसान सुरक्षाकर्मीद्वारा मारिएका थिए ।

घटना भएको पाँच दिन अघि दाङ सदरमुकाममा माओवादीले आक्रमण गरेको थियो । त्यसको पाँच दिनपछि सदरमुकामसँगै जोडिएको बर्गद्दी गाउँमा सुरक्षाकर्मीले खेतमा काम गरिरहेका एक जना किसानलाई एकै चिहान बनाएको थियो । त्यसैले मंसिर १३ गतेको दिनलाई दाङका वासिन्दाले कालो दिनको रुपमा लिने गरेका छन् ।

बर्गद्दी गाउँमा मारिएका किसानको सम्झनामा पार्क बनाइएको छ । द्वन्द्व पीडित परिवारले सरकारबाट १० लाख रुपैयाँ पाए । तर, त्यसबाहेक अन्य कुनै सुविधा सरकारबाट पाएका छैनन् ।

द्वन्द्व पीडित भवग्नी चौधरीले सरकारबाट १० लाख रुपैयाँ बाहेक केहिँ पाइएनन् । तर, विभिन्न संघसंस्थाहरुबाट सहयोग पाएको उनी बताउँछिन् ।

त्यसोत मारिएका किसान निर्दोष थिए । त्यसैले निर्दोषको हत्यामा संलग्नलाई कारबाही हुन्छ कि भन्ने आशा थियो । तर, अहिलेपनि उनीहरुले घटनामा संलग्नलाई कारबाही हुनुपर्ने बताउँदै आएका छन् ।

१४ वर्ष अघि तत्कालिन राज्य र विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएपछि द्वन्द्व टुंगियो । तर, पीडित परिवारको लागि शान्ति प्रक्रिया अझै टुंगिएको छैन ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्