कर्मचारीको मागप्रति सरकार गम्भीर छ : मन्त्री ज्ञावली



काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा एवं संघीयता कार्यान्वयन सफल पार्ने अभियानमा परिणाम देखिने गरी सहयोग पुर्याउन निजामती कर्मचारीलाई आह्वान गरेका छन्।

नेपाल निजामती कर्मचारी संगठनको २९ औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित संघीय निजामती सेवा ऐन तथा कर्मचारी समायोजनमा देखिएका समस्या र समाधानका उपाय विषयको कार्यक्रममा उनले संसद्मा विचराधिन विधेयकमार्फत कर्मचारीका वृत्ति विकाससम्बन्धी गुनासा सम्बोधन हुने विश्वास दिलाए।

‘मुलुकको शासन पद्धतिसँगै दल र संगठनका भूमिका र कार्यशैली फरक हुन्छ भन्ने पाटोलाई निजामती प्रशासनले बुझनु पर्दछ,’ उनले भने, ‘कर्मचारीको मागप्रति सरकार गम्भीर र चिन्तित छ। गुनासा सम्बोधन हुनेछ, त्रुटी सच्याइनेछ तर अमानवीय व्यवहार भने स्वीकार्य हुन सक्दैन।’

राज्यबाट प्रदान गरिने सेवा सुविधा जनताले पाउन सकेनन् भने कर्मचारीलाई प्रोत्साहन गर्नुको औचित्य नहुने भन्दै उनले निजामती प्रशासन जनताको सेवक हो भन्ने प्रष्ट पार्न सुझाव दिए। 

प्रतिक्रिया दिनुहोस्