धनुष सागर पोखरीमा नौका विहारका लागि डुङ्गा सञ्चालन



जनकपुरधाम : पोखरी नै पोखरीको शहर भनेर चिनिएको जनकपुरधामको ऐतिहासिक धनुष सागर पोखरीमा नौका विहारका लागि डुङ्गा सञ्चालन गरिएको छ ।

जनकपुरधामको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले स्थानीय गणेश युवा कमिटीले सोमबारबाट धनुष सागर पोखरीमा नौका बिहारका लागि डुङ्गा सञ्चालनमा ल्याएको हो ।

हाललाई ५ वटा डुङ्गा ल्याएर गणेश युवा कमिटीले नौका विहार सञ्चालन गरेको छ । केहि दिन भित्रै कार्यविधि बनाएर निश्चित शुल्क लिएर निरन्तर रुपमा नौका बिहार सञ्चालन गरिने कमिटीका अध्यक्ष सन्तोष कुमार महतोले जानकारी दिए ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई नौका विहारको मनोरञ्जन प्रदान गर्न धनुष सागर पोखरीमा सञ्चालित नौका बिहारको प्रदेशसभा सदस्य परमेश्वर साहले उदघाटन गरेका छन् । कमिटीले एउटा डुङ्गाको १ लाख ३५ हजारको लागतमा ५ वटा डुङ्गा ल्याएर सञ्चालन गरेको हो ।

प्रमुख अतिथी साहले गणेश युवा कमिटीले धनुष सागर पोखरीमा नौका बिहार सञ्चालनमा ल्याउनु सुखद पक्ष रहेको बताउँदै यसलाई व्यवस्थित बनाउन कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्रले जनकपुरधामका सरोवरहरूलाई जीवन प्रदान गर्न यहाँका पोखरीहरुमा डुङ्गा सञ्चालन गरी नौलो कामको शुरुवात गरिएको बताइन् ।

कार्यक्रममा मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख समेत रहेका सिचाई डिभिजन कार्यालयका प्रमुख भगवान झा, जिल्ला समन्वय समितिका उपसभापति दिपक झा, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साह, धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साह, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्