छिमेकी युवाले गरे आफ्नै साथीको हत्या



सुनसरी : सुनसरीको दुहबीमा एक युवाले आफ्नै छिमेकी साथीको हत्या गरेका छन् ।

दुहबी नगरपालिका-२ भीरगाउँका २० वर्षीय सुमन झाले साथीहरूसँग मिलेर छिमेकी १७ वर्षीय सुजन चौधरीको हत्या गरेको खुलेको हो ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन साथीको घरमा जान्छु भनेर यही १० मंसिरदेखि बेपत्ता थिए ।

उनी नफर्किएपछि १२ मंसिरमा परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय दुहबीमा हुलिया दिएका थिए । खोजतलास गर्ने क्रममा छिमेकी सुमन झालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले साथीहरूको सहयोगमा सुजनलाई अपहरण गरेर हत्या गरेको स्विकारेका थिए ।

झाले साथीहरूको सहयोगमा सुजनको हत्या गरेर ५ सय मिटर पर झाडीमा फालि दिएका थिए । शव हत्या गर्ने झाकै सहयोगमा प्रहरीले घटनास्थलबाट एक थान ट्याब, दुई थान मोबाइल र एक थान सिमकार्ड पनि बरामद गरेको छ ।

हत्या आरोपमा छिमेकी सुमन झासहित अन्य २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । हत्याको कारण भने यकिन भइनसकेको प्रहरीले जनाएको छ । ‘हत्याको कारण फिरौती, रिसइबी हो कि अन्य कुनै कारण छन् भनेर गहन सोधपुछ गरिरहेका तर यकिन भइसकेको छैन’ प्रहरीको भनाइ छ ।

सुजन बेपत्ता भएपछि मोबाइलमा सम्पर्क गर्दा ‘सुरज हाम्रो कब्जामा छ’ भनेर अज्ञात व्यक्तिले भन्ने गरेको, तर कसैले फिरौती नमागेको परिवारले प्रहरीलाई जानकारी गराएका छन् । हत्याको कारण रहस्यमय छ । सुजनले महँगो ट्याब चलाउने गरेको र सोही ट्याब हत्याउन उनको हत्या गरेको हुन सक्ने स्थानीयहरूको भनाइ छ । सुजन सुनसरीको इटहरीस्थित गोदावरी कलेजमा कक्षा १२ मा अध्ययनरत थिए ।

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्